भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’

काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ ।

भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले एनसेल एनएसएल २०२५ को लिग चरणमा पहिलो स्थान सुरक्षित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।

लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने उसका प्रतिद्वन्द्वीहरूले सिटीमाथि ६ गोल गरेका थिए ।

लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरीसहित १२ अंक जोडेको छ । जारी प्रतियोगिताका सहभागी सात टिममध्ये ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोली हो ।

यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता, रणनीति र जुझारुपनलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ ।

एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ ।

भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास, प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ, जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

अपराजित, अडिग, अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ । लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’को रूपमा उदाएको छ ।

यो निरन्तरता र साहसी प्रदर्शन क्लबको एकाग्रता, परिपक्व रणनीति र ‘टिम फर्स्ट’ मानसिकताकै कारण सम्भव भएको क्लबले जनाएको छ ।

एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई प्रेरणा दिइरहेको छ ।

क्लबको यो अपराजित लयमा प्रायोजक तथा साझेदारहरूको मुख्य भूमिका रहेको क्लबले जनाएको छ ।

क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै, पावर्ड बाइमा एनसेल रहँदा, मुख्य साझेदारमा बीवाईडी छन् भने सह–साझेदारहरूमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स रहेका छन् ।

क्लबले यी सबैलाई केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वासका साझेदारका रूपमा मानेको छ ।

भाटभटेनीले फुटबल मात्र नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आएको छ ।

भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रूपमा सम्झौता गरिएको छ । यस्तै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।

Share News