ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

काठमाडौं । चीनले सवारीसाधन निर्माता कम्पनीहरूलाई ड्राइभिङ सहायतासम्बन्धी सुविधाहरूको विज्ञापन गर्दा 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोग गर्न निषेध गरेको छ । र त्यस्ता प्रविधि सुधारहरूमाथि नियमहरू कडा बनाउने जनाएको छ । सरकारका अनुसार उद्योग प्रतिनिधिहरूसँगको एक बैठकको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

यस विज्ञापनसम्बन्धी निर्देशन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार झण्डै ६० वटा सवारी कम्पनीका प्रतिनिधिहरूसँगको बैठकमा दिएको हो । 

यो निर्णय शाओमी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको एसयू सेभेन सेडानसँग सम्बन्धित घातक दुर्घटनापछि आएको हो । उक्त घटना मार्च महिनामा भएको थियो र जसले सवारीसाधनको सुरक्षाबारे व्यापक चिन्ता उत्पन्न गराएको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार सो कार ९७ किमी प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएपछि आगो लागेको थियो, केही सेकेन्डअघि मात्र चालकले उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट नियन्त्रण आफैले लिएको बताइएको छ ।

मन्त्रालयले बुधबारको बैठकबारे एक संक्षिप्त वक्तव्यमा पुष्टि गर्दै भन्यो कि फेब्रुअरीमा प्रकाशित नयाँ नियमबारे सवारीसाधन कम्पनीहरूलाई स्पष्ट जानकारी दिइएको हो, जसमा स्मार्ट सवारीसाधनको ओभर-द-एयर (ओटीए) प्रविधि सुधारसम्बन्धी प्रावधानहरू समावेश छन् ।

नयाँ नियमअनुसार कम्पनीहरूले ग्राहकलाई डेलिभरी भइसकेका सवारीसाधनहरूमा अनुमति बिना ओटीएमार्फत एडीएएस प्रणाली परीक्षण तथा सुधार गर्न नपाउने छन् ।

अब कम्पनीहरूले सो प्रणाली विश्वसनीय छ भन्ने कुरा पर्याप्त परीक्षणद्वारा प्रमाणित गर्नुपर्नेछ र त्यसपछि मात्र सम्बन्धित अधिकारीहरूबाट स्वीकृति लिएर सार्वजनिक रूपमा लागू गर्न पाउनेछन् ।

बैठकमा सहभागी कम्पनीहरूमा हुवावे पनि थियो, जसले अडीसहित सातभन्दा बढी ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ । हुवावेले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन ।

यो नियामक कदम सवारीसाधन कम्पनीहरू स्मार्ट ड्राइभिङ विशेषताका साथ नयाँ मोडेलहरू सार्वजनिक गर्दै तीव्र प्रतिस्पर्धामा सामेल भइरहेका बेला आएको हो । यो प्रतिस्पर्धा चीनको अटोमोबाइल बजारमा लगातार तेस्रो वर्षसम्म कायम छ ।

बीवाईडी कम्पनीले फेब्रुअरी महिनामा १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा २१ भन्दा बढी मोडेल सार्वजनिक गरेको थियो, जसमा 'स्मार्ट ड्राइभिङ' सुविधा निःशुल्क दिइएको थियो । लीपमोटर,टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि यस्तै सुविधा भएको किफायती मोडेलहरू बजारमा ल्याएका थिए ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको ट्राफिक सुरक्षा अनुसन्धान केन्द्रले सोमबार भनेको छ कि सहायक ड्राइभिङ सुविधा झुटो वा अतिरञ्जित रूपमा प्रस्तुत गरेर उपभोक्तालाई भ्रममा पार्ने कम्पनीहरूले चीनको विज्ञापन कानुनअनुसार विज्ञापन खर्चको ५ देखि १० गुणासम्म जरिवाना भोग्नुपर्नेछ वा उनीहरूको व्यावसायीक अनुमतिपत्रसमेत रद्द हुन सक्छ ।

यदि त्यस्तो झुटो विज्ञापनले दुर्घटना र मानवीय क्षति निम्त्यायो भने फौजदारी कानुनअन्तर्गत मुद्दा चल्न सक्ने र दोशीले दुई वर्षसम्मको जेल सजाय भोग्न सक्ने केन्द्रको भनाइ छ ।

चीनका नियामक निकायहरू इलेक्ट्रिक सवारी प्रविधिमाथि कडाइ गर्न थालेका छन्, किनभने यो उद्योग अपेक्षाभन्दा छिटो बढिरहेको छ । गत वर्षको अन्त्यतिर ईभी तथा हाइब्रिड गाडीहरूको बिक्री कुल सवारी बिक्रीको ५० प्रतिशत नाघेको थियो- जुन लक्ष्य सरकारले तय गरेको समयभन्दा अगावै प्राप्त भएको हो ।

नियामक निकायहरूले आगलागी तथा विस्फोटको जोखिम कम गर्नका लागि ईभी ब्याट्री सम्बन्धी मापदण्डहरू पनि कडा बनाउँदैछन् ।

विश्लेषक र उद्योग स्रोतहरूका अनुसार यस्ता कडा नियमले लागत बढाउने, प्रविधिको विकास ढिलो पार्ने खतरा त छ, तर यसले चीनको भीडभाड भएको अटो उद्योगमा बहुप्रतीक्षित समायोजनलाई पनि तीव्रता दिन सक्छ, जसले दीर्घकालीन रूपमा उद्योगलाई सन्तुलनमा ल्याउने सम्भावना छ ।

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशनबीवाईडीसँग प्रतिस्पर्धा

Share News