चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा चार तले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । कुल लागत ४ करोड २ लाख ३९ हजार ७२५ रुपैयाँ रहेको उक्त भवन आज उद्घाटन हुन लागेको हो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार भवनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत इच्छाकामना गाउँपालिका आउने छन् ।
प्रधानमन्त्री ओलीले भरतपुरमा निर्मित ६ लेनको सडकको निरीक्षण गर्नुका साथै एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन तथा नारायणगढ–बुटवल सडकखण्ड र कालीगण्डकी करिडोरको समेत अनुगमन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरूङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गुरूङले बहालवाला प्रधानमन्त्री पहिलोपटक इच्छाकामना गाउँपालिकामा आउन लागेकोमा खुशी व्यक्त गर्दै, उद्घाटन समारोहका अवसरमा पूर्व जनप्रतिनिधिहरू र उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको बताए ।
नवनिर्मित भवनको भुइँ तलामा प्रशासन, लेखा तथा सामाजिक विकास शाखाका कार्यालयहरू राखिएको अध्यक्ष गुरूङले बताए । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, दोस्रो तलामा शिक्षा, स्वास्थ्य, पञ्जीकरण र प्रधानमन्त्री रोजगार शाखा तथा तेस्रो तलामा सभा हल रहेको छ ।
गुरूङका अनुसार भवनको निर्माण कार्य किस्ताबन्दीमा सम्पन्न गरिएको हो । 'हामी आउँदा भवनको केवल एक तला मात्र निर्माण भएको थियो,' अध्यक्ष गुरूङले भने, 'पछि हामीले भवनलाई पूर्णता दिन ब्यूटिफिकेसनको काम गर्यौं । अहिले हेर्दा भवन आकर्षक बनेको छ ।'