काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना गरिएको हो ।
ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूका अनुसार पशु सेवा तालिम केन्द्र, ललितपुरमा पिउन ल्याइएको पानीको जारमा किरा देखिएको गुनासो आएपछि तत्काल निरीक्षण गरी कारबाही गरिएको हो ।
'गुनासो आएलगत्तै हाम्रो टोली त्यहाँ पुगेको थियो,' हाछेथूले भने, 'निरीक्षणपछि कम्पनीलाई २५ हजार जरिवाना गरिएको छ ।'
हाल उपत्यकाभर नगरपालिकाहरूले पिउने पानीका जार र बोतलमा बढ्दो गुनासोहरूपछि कडाइका साथ अनुगमन र निगरानी गरिरहेका छन् । गुणस्तरहीन पानी वितरण गर्नेहरूमाथि महानगरहरूले तत्काल कारबाही सुरु गरेका छन् ।