च्यासल-बालकुमारी क्षेत्रका कवाडी संकलन केन्द्रमा चल्यो डोजर, दुई मजदुर पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रहरू डोजर लगाएर हटाएको छ ।

महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार ती केन्द्रहरू आवासीय क्षेत्रमा नियमविपरीत सञ्चालन भइरहेका थिए । पटक-पटक सूचना दिँदासमेत अटेर गरेपछि आज डोजरसहितको टोली परिचालन गरी केन्द्र हटाइएको उनले जानकारी दिए ।

डोजर प्रयोग गरी संरचना हटाउने क्रममा विरोधस्वरूप दुई मजदुरले ढुंगामुढा गरेको र त्यस क्रममा डोजरको सिसा समेत फुटेको अर्यालले बताए । उक्त घटनापछि ढुंगा प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

कारबाहीका लागि महानगरपालिकाले दर्जनौं नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरेको थियो ।

महानगरपालिकाले आवासीय क्षेत्रलाई व्यवस्थित गर्न र अव्यवस्थित व्यापारिक गतिविधिमा नियन्त्रण गर्न निरन्तर अनुगमन र कारबाही जारी राख्ने जनाएको छ ।

Share News