ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अटो शुल्कहरू जारी रहे फोर्ड मोटरले नयाँ सवारीसाधनहरूको मूल्य बढाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फोर्डले बुधबार डिलरहरूलाई पठाएको ज्ञापनलाई आधार मानी सञ्चारमाध्यमहरूले मूल्य बढाउन सक्ने बताएका हुन् ।

मिशिगन राज्यको डियरबोर्नमा रहेको यो अटोमोबाइल कम्पनीले यसै महिनाको सुरुतिरदेखि जुन २ सम्मका लागि आफ्ना सबै मोडेलहरूमा ठूलो छुटको प्रस्ताव ल्याएको थियो । 

यो कार्यक्रम जारी रहनेछ, तर मे महिनामा उत्पादन गरिएका र त्यसपछि आउने नयाँ मोडेलहरूको मूल्य परिवर्तन हुन सक्ने उक्त ज्ञापनमा उल्लेख छ ।

अटोमोटिभ न्यूजले पहिलो पटक उक्त ज्ञापनको समाचार प्रकाशित गरेको थियो ।

'ग्राहकहरूका लागि धेरै विकल्पहरू हुनेछन् र जुन २ सम्म पर्याप्त स्टक उपलब्ध छ । शुल्कको अवस्था परिवर्तनशील छ र हामी त्यसको सम्भावित प्रभावको मूल्याङ्कन गर्दैछौं,’ फोर्डका एक प्रवक्ताले भने । 

उनले यदि मे महिनामा उत्पादन गरिएका सवारीहरूको मूल्य परिवर्तन भयो भने पनि ग्राहकहरूले जुलाईको सुरुतिर मात्र मूल्य वृद्धिको प्रभाव देख्ने पनि बताए ।

अमेरिकी र विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले उपभोक्ताको मूल्यवृद्धि प्रतिको चिन्ता कम गर्न मूल्य स्थिरता र ठूलो छुटहरूको प्रस्ताव गरेका छन् ।

यद्यपि शुल्कका छोटो अवधिका प्रभावहरूले बिक्री बढाएको देखिएको छ । अमेरिकी अटो निर्माता कम्पनीहरूले गोप्य रूपमा सांसदहरूलाई चेतावनी दिइसकेका छन् कि यदि शुल्कहरू यथावत रहे भने उनीहरूलाई सवारीसाधनको मूल्य उल्लेखनीय रूपमा बढाउन बाध्य हुनुपर्नेछ ।

’हालसम्म सार्वजनिक गरिएको शुल्क नीतिमा ठूला परिवर्तनहरू नभएको अवस्थामा हामी भविष्यमा सवारी साधनको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता देखिरहेका छौं, जुन मे महिनाको उत्पादनसँगै सुरु हुनसक्छ,’ फोर्डका कार्यकारी एन्ड्रयू फ्रिकले उक्त ज्ञापनमा भनेका छन् ।

फोर्डले हाल फोर्ड र लिनकन  डिलरहरूमा स्टकमा रहेका कुनै पनि सवारीमा स्टिकर मूल्य (सूचीकृत मूल्य) नबढाउने पनि ज्ञापनमा उल्लेख छ ।

यसै महिनाको सुरुमा प्रकाशित सेन्टर फर अटोमोटिभ रिसर्चको एक विश्लेषणअनुसार अप्रिल ३ मा लागु गरिएको ट्रम्पको २५ प्रतिशत अटो आयात शुल्कका कारण सन् २०२५ मा अमेरिकी अटो निर्माता कम्पनीहरूलाई झन्डै १०८ अर्ब डलर अतिरिक्त खर्च लाग्नेछ ।

फोर्ड अमेरिकी बजारमा बेचिने करिब ८० प्रतिशत सवारीहरू स्वदेशमै उत्पादन गर्ने भएकाले शुल्कहरूको असर झेल्न सक्षम अटो निर्माता कम्पनीहरूमध्ये एक मानिन्छ ।

यसै हप्ता ट्रम्पले अटो सम्बन्धी शुल्कहरूमा परिमार्जन गर्ने विचार गरिरहेको संकेत दिएका थिए, जसअनुसार हाल लागु भएका शुल्कहरूमा केही छुट दिन सकिने सम्भावना रहेको छ ।

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशनबीवाईडीसँग प्रतिस्पर्धा

 

Share News