एभरेष्ट अस्पताललाई फोहोर व्यवस्थापन नगरेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले अस्पतालबाट हानीकारक फोहर उचित तरिकाले व्यवस्थापन नगरेको, पटक–पटकको सूचनालाई बेवास्ता गरेको भन्दै ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’ अनुसार जरिवाना गर्ने निर्णय गरेको हो ।

विभाग प्रमुख सरिता राईका अनुसार अस्पतालबाट निस्कने रासायनिक, औद्योगिक, स्वास्थ्यजन्य तथा अन्य जोखिमपूर्ण फोहर असावधानीपूर्वक व्यवस्थापन गरिएको भेटिएको थियो ।

ऐनको व्यवस्था अनुसार पहिलो पटक जथाभावी फोहर फाल्ने, राख्ने वा निष्कासन गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । सोही अपराध दोहोरिएमा पहिलेको जरिवानाको दोब्बर गरी कानुनी प्रक्रिया अघि बढाउने र अस्पतालको इजाजतसमेत खारेज गर्न सकिने प्रावधान छ ।

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा संवेदनशीलता अपनाउन सबै अस्पताल र स्वास्थ्य संस्थाहरुलाई सचेत गराउँदै पटक–पटक अवज्ञा भएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ ।   

Share News