जुम्ला–रारा ५१ किलोमिटर म्याराथन वैशाख २७ गतेदेखि, बेलायत, इटाली र अमेरिकाका धावक आउने

काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।

खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायाको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ ।

अध्यक्ष शाहीले भने, ‘दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ ।’

प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ ।

प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, ५ किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनिका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । 

दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्यान्ड, भारत, इटाली र अमेरिका समेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने छ ।

५१ किलोमिटर प्रतियोगितामा प्रथम हुने (महिला/पुरुष) १/१ लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नेलाई जनही ७५ हजार रुपैयाँ, तृतीयलाई ५० हजार रुपैयाँ, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । 

५ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) ५ हजार रुपैयाँ, दोस्रोलाई ३ हजार रुपैयाँ र तृतीय हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिने छ । 

विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला/पुरुष) १० हजार रुपैयाँ, दोस्रो हुनेलाई ६ हजार रुपैयाँ र तृतीय हुनेलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

Share News