काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएसँगै त्रिवि उपकुलपतिविहीन भएको छ । जसका कारण विश्वविद्यालयका प्राज्ञिक, प्रशासनिक तथा कार्यकारी कामकारवाही प्रभावित भएका छन् । बरालले १५ चैतमा स्वास्थ्य कारण देखाउँदै राजीनामा दिएका थिए, जुन बिहीबार स्वीकृत भएको हो ।
उपकुलपति नभएपछि परीक्षाका प्रमाणपत्रमा हस्ताक्षर लगायतका कार्यहरू रोकिएका छन् । जसले विद्यार्थीहरूलाई असर पुर्याएको छ ।
बरालले चार महिनायता प्रधानमन्त्रीको असहयोग र अनावश्यक दबाबका कारण काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै राजीनामा दिएका थिए । उनले मेरिटका आधारमा डिन नियुक्ति गर्ने प्रयास गरेका थिए, तर सत्तारूढ दलको हस्तक्षेपका कारण सो सम्भव नभएको बताएका छन् ।
बरालको राजीनामा स्वीकृत भएसँगै त्रिविमा नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।