काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ११औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालले गरेका थिए ।
सभाले कम्पनीको चुक्ता पुँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। यसअघि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको थियो, जसलाई संशोधन गरी १ः०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गरिएको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत पारित गरेको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ ।
सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी, अन्य लगानीयोग्य क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सभाले गरेको छ । साथै, हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
हकप्रद सेयर निष्कासनका क्रममा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियामक निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव समेत सभाबाट पारित भएको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र नियामक निकायहरूबाट जारी निर्देशनअनुसार थपघट गर्नुपर्ने परेमा त्यससम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ ।