काठमाडौं । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको एक विज्ञ सदस्यको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।
उक्त पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट भरिने भएकाले इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । आवेदन सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र बुझाउन सकिनेछ ।
दरखास्त दिनको लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने र सार्वजनिक निकायसँग सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको विज्ञता प्राप्त गरेको हुनुपर्नेछ ।
त्यसैगरी, उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नठहरिने व्यक्ति मात्र योग्य हुनेछन् । उमेर हदको सन्दर्भमा, दरखास्त दिनको मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
उम्मेदवारले मन्त्रालयको वेबसाइटमा प्रकाशित निर्देशिकाको अनुसूची २ अनुसारको ढाँचामा दरखास्त भर्नुपर्नेछ । साथै, दुई प्रति पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, अनुभव सम्बन्धी प्रमाणपत्र तथा स्वघोषणा फाराम आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।
मन्त्रालयले समयमै आवश्यक सबै कागजातहरू संलग्न नगर्ने दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।