इन्फिनिटी लघुवित्तको डिजिटल कारोबार सुरू, अब कर्जा भुक्तानी सदस्यको खातामै

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले अब कर्जा, तलब, भेण्डर भुक्तानी लगायतका सबै प्रकारका भुक्तानीहरू सिधै लाभग्राहीको बैंक खातामा पठाउने सुविधा सुरू गरेको छ ।

संस्थाले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणाली आफ्नो आन्तरिक प्रणालीमा एकीकृत गर्दै डिजिटल कारोबारको नयाँ अध्याय प्रारम्भ गरेको हो । यससँगै इन्फिनिटी एनपीआईमार्फत कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त संस्था बनेको छ ।

अब इन्फिनिटीले एनसीएचएलको आइपीएस र आरपीएस प्रणालीमार्फत बचत संकलन, कर्जा किस्ता तिर्ने, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका सबै प्रकारका भुक्तानीहरू डिजिटल रूपमा गर्न सक्नेछ । साथै शाखाहरूमा रहेको रकमलाई केन्द्रमा सजिलै ल्याउन सक्ने (सेन्ट्रलाइज गर्न सकिने) प्रणाली पनि यसमा समावेश छ ।

एनपीआइ प्रणाली ओपन एपीआई अवधारणामा आधारित एकीकृत भुक्तानी इन्टरफेस हो, जसमा हालसम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष रूपमा आबद्ध छन् । साथै, १०० भन्दा बढी गैर–बैंकिङ संस्था प्राविधिक सदस्यका रूपमा सहभागी छन् ।

२०७३ सालमा स्थापना भएको इन्फिनिटी लघुवित्तले ४८ जिल्लामा फैलिएको ९६ शाखाहरूमार्फत १ लाखभन्दा बढी घरधुरीहरूमा वित्तीय सेवा पुर्याउँदै आएको छ । निम्न आय वर्गलाई लक्षित गर्दै बचत, ऋण, रेमिट्यान्स र माइक्रो बीमा सेवा प्रदान गर्दै आएको इन्फिनिटीले प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको छ ।

Share News