काठमाडौं । ऐना आर्टस् र आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण कार्य सम्पन्न भएको छ । निर्माण टिमले चलचित्रको आधिकारिक पोष्टर सार्वजनिक गर्दै यसको पहिलो झलक दर्शकमाझ प्रस्तुत गरेको छ ।
पोस्टरमा एउटा आँखाभित्र दुई पात्र देख्न सकिन्छ – एउटा दृष्टिविहीन व्यक्ति र अर्को सामान्य मानिस । यसले बाहिरी आँखाले देखिने संसार र हृदयले अनुभूति गर्ने दुनियाँबीचको अन्तर झल्काउने संकेत गरेको छ । पोष्टर रसिकराजले तयार गरेका हुन् ।
‘दृश्य’को निर्माण नितु घिमिरे को प्रस्तुति र रामेश्वर भट्टराई को प्रमुख निर्माण संयोजनमा भएको हो । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, र आश्री ट्राभल्सका सञ्चालकसमेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माणमा संलग्न भएको बताउँछन् ।
चलचित्रमा नारायणराज चौलागाईं, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य लगायतका कलाकारको अभिनय छ ।
संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको चलचित्रमा बाँसुरी वादन नगेन्द्र राई ले गरेका छन् । सिनेमाटोग्राफी नारायण जिसी, सम्पादन तथा रंग संयोजन अनिल कुमार महर्जन, सहायक निर्देशन करण साउद, र कला निर्देशन सुमित राई ले गरेका छन् ।
मुख्य पात्र नारायणराज चौलागाईं (नारायण काइँलो) ले चलचित्रको भूमिकाका लागि ६ महिनासम्म तयारी गरेका थिए । गजलकार तथा गीतकारसमेत रहेका चौलागाईंले यसै चलचित्रमार्फत् डेब्यु गरेका हुन् ।
निर्माण व्यवस्थापन सुरेन्द्र क्षेत्री को जिम्मामा रहेको छ । क्षेत्रीले सबैको अथक प्रयासले चलचित्र उत्कृष्ट बनाउन गरिएको प्रयास दर्शकमाझ प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
लेखन तथा निर्देशन मोहन अभिलाषी ले गरेका छन् । अभिलाषीका अनुसार चलचित्रले बाहिरी आँखाले देखिने भौतिक संसार र हृदयको आँखाले महसुस गरिने आन्तरिक संसारबीचको भिन्नता चित्रण गर्नेछ ।
चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराइने योजना छ । त्यसपछि, ‘दृश्य’लाई विभिन्न ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक गरिने निर्देशक अभिलाषीले बताए ।
यसअघि ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ जस्ता चलचित्र बनाएर अन्तर्राष्ट्रिय महोत्सवहरूमा सफल भएका निर्देशक अभिलाषी नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् ।