काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।
राजीनामा दिएर उनी शनिबार बिहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ । पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत उनी असन्तुष्ट थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए ।