
काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनी वीक २०२५) को अवसरमा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ प्रालि (ब्राेकर १९ ) ले वित्तीय सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनीले बुधबार धितोपत्र बजारसम्बन्धी समुदायिक विद्यालयकेन्द्रित वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालय गोकर्णेश्वर- ६ जोरपाटीमा भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण भण्डारीले धितोपत्र वजार, आयको वचत तथा लगानीका विविध पक्षहरूको बारेमा प्रष्ट पारे । उनले सानै उमेरबाट वचत गर्ने र लगानी गर्ने बानीको विकासले भविष्यमा त्यसले उचित प्रतिफल प्राप्त गर्न सकिनुका साथै भविष्यमा अकस्मात आइपर्ने जाेखिमबाट बच्नसमेत सहयाेग हुने बताए ।
उनले भने, ‘किशोर अवस्थावाटै सुरु गरिने स–साना बचत गर्ने बानी र त्यसलाई लगानी गर्दै जाँदा भविष्यामा उचित प्रतिफल प्राप्त हुन्छ । यो बानीको विकास हामीले सानैबाट गर्नु आवश्यक छ, यसको लागि वित्तिय साक्षरता आवश्यक हुन्छ ।’
विद्यालयका व्यवसस्थापन अध्यक्ष रमेश अर्यालले यस्तो प्रकारको कार्यक्रम आवश्यक रहेको औल्याउँदै यस्ता कार्यक्रमले समुदाय र समुदायका विभिन्न वर्गहको वित्तीय ज्ञानमा वृद्धि हुने बताए । त्यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राघव दवाडीले आगामी दिनमा यस्ता कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने र चेतनाको स्तर बढाउने प्रतिबद्धता जनाए ।
सचेतना कार्यक्रममा विद्यालयका अध्यक्ष अर्याल, प्रधानाध्यापक दवाडी, आयोजकतर्फबाट सीईओ, व्यवस्थापक, कार्यान्वयन अधिकृत, राफसाफ अधिकृतलगायत ३० जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । कम्पनीले हरेक वर्ष यस्तो प्रकारको वित्तीय सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस वर्षको विश्व वित्तीय सप्ताहको नारा ‘थिंक विफोर फलो वाइज मनी टुमरो’ रहेको छ ।
