काठमाडौं महानगर र गुणस्तर विभागबीच सम्झौता, खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण हुने

<p>काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सोमबार सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको [&hellip;]</p>

काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सोमबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।

खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको हो ।
संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । अन्य व्यवस्थापन संयुक्त रूपमा हुनेछ ।

अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितको टोलीले संयुक्त टोली हुनेछ ।

अनुगमन निरीक्षणसम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरपालिकाको सेवामा रहेका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउनेछ ।

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि बोल्दै महानिर्देशक कर्णले सहमतिअनुसारका कामबाट काठमाडौंमा थोरै लगानी भएको ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ हुन्, जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दिगो नतिजा आउँछ । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले अनुगमनमा यस अघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसले व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए ।

समाजका तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्नका लागि संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ ।

हस्ताक्षर कार्यक्रममा महानगरपालिकाको प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्ले, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित पदाधिकारीहरु सहभागी थिए ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा विभागलाई प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीक्षण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व दिएको छ ।

काठमाडौं महानगरपालिकाले उपभोक्ताहरुको गुणस्तरीय, सुलभ खाद्य अधिकार सुरक्षाका लागि नियमित खाद्य सेवाको अनुगमन गरिरहेको छ ।

Share News