
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीको नयाँ इलेक्ट्रिक क्रसओभर एसयूभी वाईयू सेभेनले ७७० किलोमिटर (४७८ माइल) सम्मको ड्राइभिङ रेन्ज दिने बिहीबार सार्वजनिक भएको एक सरकारी दस्तावेजले देखाएको छ ।
यो गाडी शाओमीको पहिलो एसयूभी हो र यसलाई यो समरमा बजारमा ल्याइने अपेक्षा गरिएको छ । जसले टेस्लाको मोडल वाईलाई टक्कर दिनेछ ।
यो गाडीले परम्परागत क्रसओभर एसयूभीका विशेषताहरूलाई ब्याट्रीबाट चल्ने ड्राइभट्रेनसँग जोड्छ । साथै यसमा ६७५ किलोमिटर र ७६० किलोमिटर रेन्ज भएका संस्करणहरू पनि उपलब्ध छन् ।
उद्योग मन्त्रालयको सूचना अनुसार यो गाडीलाई खरिद कर छुट पाउने नवसमाविष्ट मोडेलहरूमा राखिएको छ ।
टेस्लाले भने फेब्रुअरीको अन्त्यमा आफ्नो नयाँ मोडल वितरण गर्न सुरु गरिसकेको छ ।
नयाँ डिजाइन गरिएको लङ रेन्ज भेरियन्टले पहिलेको ६८८ किमिबाट बढेर ७१९ किलोमिटर रेन्ज दिनेछ, जबकि रियर-ड्राइभ भेरियन्टले पहिलेको ५५४ किमिबाट बढेर ५९३ किलोमिटर रेन्ज दिनेछ ।
शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयू सेभेन २०२३ डिसेम्बरमा सार्वजनिक गरेको थियो ।
साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो ।
कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो ।
साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्याउनेछ ।