काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित पुरातात्विक संरचनामा हुने क्षति कम गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरबारको पुनर्निर्माण, पुर्नस्थापना नहुँदासम्म थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
सरकारी कार्यालय रहेका पुराना पराम्परागत शैलीका दरबारको हकमा भने पुनर्निर्माण र पुर्नस्थापना नभएसम्मका लागी संरक्षण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको गुरागाँइले बताए ।
पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारलाई तत्कालका लागी हावापानी, लगायत बाह्य तत्वहरुबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यन अनर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणका सहसचिव जर्नादन गुरागाँइले जानकारी दिए ।
उक्त बैठकले पुनर्निनिर्माण र पुर्नस्थापना सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७३ लाई संशोधन गर्ने निर्णय गरेको छ।