
काठमाडौं । इन्डोनेसियामा फेब्रुअरी महिनामा कार बिक्री वार्षिक रूपमा २.२ प्रतिशतले वृद्धि भएको छ । जुन सन् २०२३ को जूनपछि पहिलो वृद्धि हो ।
देशको कार संघबाट मंगलबार सार्वजनिक भएको तथ्याङ्कले यस्तो देखाएको हो । यो वृद्धि विशेष गरी चिनियाँ ब्रान्डद्वारा सञ्चालित विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो अपनत्वका कारण भएको हो ।
दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा कार बिक्री ग्राहकहरूको कमजोर खर्च शक्ति र गत वर्षको राष्ट्रिय चुनावका कारण खरीद निर्णय रोक्ने प्रवृत्तिका कारण चुनौतीको सामना गरिरहेको संघका अधिकारीहरूले बताएका छन् ।
तर, झन् सुलभ ईभी विकल्पहरू र राम्रो आर्थिक अवस्थाहरूले वृद्धि गर्न प्रमुख भूमिका खेलेको देखिएको छ ।
कार बिक्री जी ट्वान्टी अर्थतन्त्रमा घरेलु उपभोग मापन गर्न विश्लेषकहरूले निगरानी गर्ने आर्थिक सूचकहरूमध्ये एक हो ।
हालका वर्षहरूमा केही चिनियाँ ईभी ब्रान्डहरू इन्डोनेसियाली बजारमा प्रवेश गरेका छन्, किनकि जकार्ताले ईभी निर्माताहरूलाई देशमा लगानी गर्न विभिन्न प्रोत्साहनहरू उपलब्ध गराएको छ ।
डिलरहरूलाई फेब्रुअरी महिनामा ७२ हजार २९५ युनिट कारहरू बिक्री गरियो, जुन गत वर्षको ७० हजार ७७२ युनिटको तुलनामा बढी हो ।
चिनियाँ ब्रान्डहरू बीवाईडी र चेरी अटोमोबाइलले फेब्रुअरी महिनामा सबैभन्दा बढी वार्षिक बिक्री वृद्धि दर्ता गरेका छन् ।
बीवाईडीले गत जूनमा इन्डोनेसियामा आफ्नो कारहरू बिक्री गर्न सुरु गरेको थियो । नोभेम्बर २०२४ सम्म कम्पनीले ब्याट्री–आधारित ईभी बिक्रीमा करिब ३६ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।
टोयोटा, डाइहात्सु, होन्डा र मित्सुबिसी मोटर्सजस्ता जापानी कार निर्माताहरू अझै पनि इन्डोनेसियाको कार बजारमा हावी छन् ।
द गाइकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो सोले यस वर्ष ९ लाख युनिट कार बिक्री गर्ने अपेक्षा गरेको छ, जुन २०२४ को ८ लाख ६५ हजार ७२३ को तुलनामा अलि बढी हो । (एजेन्सीहरूको सहयोगमा)