टेस्लाले क्यानडामा बेच्यो ३ दिनमै ८ हजार ६०० कार, सरकारी अनुसन्धानमा तानियो कम्पनी

<p>काठमाडौं । अमेरिका र क्यानडाबीच भन्सार शुल्क (ट्यारिफ) लाई लिएर जारी व्यापारिक द्वन्द्वबीच एलन मस्कको कम्पनी टेस्लाको एक ‘काण्ड’ बाहिर आएको छ। क्यानडामा टेस्लाका गाडीहरूको बिक्री अकस्मात तीव्र रूपमा बढेको छ । हिन्दुस्तान टाइम्सका अनुसार यस तीव्र वृद्धिको कारण सरकारले अनुसन्धान सुरु गरेको छ । यो मामला विद्युतीय सवारीसाधन (ईभी) सब्सिडी (अनुदान) सँग सम्बन्धित छ [&hellip;]</p>

काठमाडौं । अमेरिका र क्यानडाबीच भन्सार शुल्क (ट्यारिफ) लाई लिएर जारी व्यापारिक द्वन्द्वबीच एलन मस्कको कम्पनी टेस्लाको एक ‘काण्ड’ बाहिर आएको छ।

क्यानडामा टेस्लाका गाडीहरूको बिक्री अकस्मात तीव्र रूपमा बढेको छ । हिन्दुस्तान टाइम्सका अनुसार यस तीव्र वृद्धिको कारण सरकारले अनुसन्धान सुरु गरेको छ । यो मामला विद्युतीय सवारीसाधन (ईभी) सब्सिडी (अनुदान) सँग सम्बन्धित छ ।

सब्सिडी बन्द हुने अघिल्लो क्षणमा वृद्धि

मोटर इलस्ट्रेटेडको रिपोर्टअनुसार जनवरीमा ईभी सब्सिडी कार्यक्रम बन्द हुनु ठीकअघि टेस्लाको बिक्रीमा आश्चर्यजनक वृद्धि देखियो । केवल ३ दिनमै टेस्लाले क्यानडाका चार विभिन्न स्थानहरूमा ८ हजार ६०० भन्दा बढी कारहरू बिक्री गर्‍यो । यसबाट कम्पनीले ४३ मिलियन डलर (करिब ६०० करोड रुपैयाँ) बराबरको सब्सिडी प्राप्त गर्‍यो ।

बिक्रीमाथि उठेका प्रश्नहरू

टोरन्टोस्थित एक शोरुममा मात्र ११ जनवरीमा १ हजार २०० भन्दा बढी गाडी बिक्री भए । यसबाट सो शोरुमलाई मात्र ४ मिलियन डलर सब्सिडी प्राप्त भयो ।

अब प्रश्न उठ्दैछ– के यी बिक्रीहरू वास्तविक थिए ? के टेस्लालाई पहिल्यै थाहा थियो कि ईभी सब्सिडी कार्यक्रम बन्द हुन लागेको छ ? इन्डस्ट्रीका विशेषज्ञहरू यस विषयमा गहिरो चिन्ता व्यक्त गरिरहेका छन् ।

सब्सिडीको दुरुपयोग ?

क्यानडियन अटोमोबाइल डिलर्स एसोसिएसन (सीएडीए) ले ट्रान्सपोर्ट क्यानडालाई यस मामलाको अनुसन्धान गर्न अनुरोध गरेको छ । उनीहरूको दाबी छ कि सब्सिडी प्रणालीको गलत प्रयोग भएको छ ।

सरकारले १३ जनवरीमा ईभी सब्सिडी कार्यक्रम बन्द गर्‍यो । यसको ७२ घण्टा अगाडि मात्रै सरकारले कार्यक्रम बन्द हुने संकेत दिएको थियो ।

हाल अधिकारीहरू टेस्लाको बिक्री डेटा परीक्षण गर्दैछन् । उनीहरूले कार्यक्रम बन्द हुनुअघि कुनै अनियमितता भयो कि भएन भनेर अनुसन्धान गरिरहेका छन् । यो ईभी सब्सिडी कार्यक्रम सुरु भएयता ५ लाखभन्दा बढी इलेक्ट्रिक गाडीहरूको खरिदमा सहयोग गरिसकेको छ ।

विश्वभर टेस्लाको बिक्रीमा गिरावट

हाल विश्वभर टेस्लाका कारहरूको बिक्री घटिरहेको छ।

जर्मनीमा फेब्रुअरी महिनामा ७६ प्रतिशत, नेदरल्याण्डमा २४ प्रतिशत, स्वीडेनमा ४२ प्रतिशत, फ्रान्समा ४५ प्रतिशत, इटालीमा ५५ प्रतिशत, स्पेनमा १० प्रतिशत र पोर्चुगलमा ५३ प्रतिशतले बिक्रीमा गिरावट आएको छ ।

चीनमा उत्पादित टेस्ला गाडीहरूको विश्वव्यापी बिक्रीमा ४९ प्रतिशत गिरावट आएको छ । यो गिरावटले टेस्लाको भविष्यमा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)

संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी

Share News