
काठमाडौं । नेपालमा आधिकारिक रूपमा एमजी एस फाइभ सार्वजनिक भएको छ । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस फाइभ एसयूभी सार्वजनिक गरेको हो ।
गाडी दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा उपलब्ध छ । ब्याट्री अप्सनमा ४९ र ६२ किलोवाट आवर क्षमता पाउन सकिने पारामाउन्ट मोटर्सले जनाएको छ ।
ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
४९ किलोवाट आवरको ब्याट्री भएको मोडललाई दुई भेरियन्टमा ल्याएको छ । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फुल अप्सन भेरियन्टको मूल्य भने ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । फुल अप्सनमा सनरुफ र लेदर सिट लगायतका फिचर छन् ।

कम्पनीले केही दिनमै बुकिङ भएका गाडी हस्तान्तरण गर्ने जनाएको छ । साथै बुकिङ पनि खुलाएको छ ।
एमजी एस फाइभमा प्रयोग भएको ४९ किलोवाटको ब्याट्री भएको गाडीले ३४० र ६२ किलोवाटको ब्याट्री भएको गाडीले ४३० किलोमिटर रेन्ज दिने जनाइएको छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ ।
४९ किलोवाटको ब्याट्री डिसी चार्जरको सहायताले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल २६ मिनेट लाग्नेछ भने ६२ किलोवाटको ब्याट्री २१ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज हुन्छ ।
यस गाडीको ग्राउण्ड क्लियरेन्स नेपाली बाटोमा सुहाउँदो १८० एमएम रहेको छ । यसमा सीएटीएलको एलएफपी ब्याट्री राखिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा पातलो ब्याट्री टेक्नोलोजी हो ।
