
ललितपुर । ललितपुर महानगर- १३ मा अवस्थित बासुकी नाग महिला समूहको बिक्री कक्ष र उत्पादन केन्द्र सञ्चालनमा आएको छ ।
उक्त केन्द्रमा बासुकी नाग महिला समूहले सञ्चालन गरेको तालिमपश्चात उत्पादन भएका सामग्रीलाई उक्त केन्द्रमा राखिएको छ ।
उक्त विक्री कक्ष र उत्पादन केन्द्रको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उद्यमशीलतालाई प्रबद्र्धन गर्न सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुर महानगरले धेरै किसिमको तालिम सञ्चालन गरेको बताउँदै तालिम लिएकाहरूलाई उनले काम गर्न अनुरोध गरे ।
उनले भने, ‘काम गर्न चाहनुहुन्छ भने हामी सीड मनीको व्यवस्था गर्छौं ।’
महानगरमा आउने पाहुनालाई केन्द्रमा राखेका सामान उपहार दिने उनले बताए ।
आर्थिक विकास समितिका संयोजक एवम् वडा नं.२१ का वडाअध्यक्ष रविन्द्र महर्जनले समृद्धिको लागि सीप विकास र आर्थिक आयआर्जन महत्व भएको बताए ।
महिला र युवालाई उद्यमी बनाउन सीप विकाससँगै उद्यमशीलता आवश्यक भएको उनको भनाइ छ ।
समृद्धिका लागि सीप, उत्पादन र बजारीकरण महत्त्वपूर्ण भएको उनको भनाइ थियो। विदेश जाने तयारी गरेका युवा महानगरले उपलब्ध गराएको सीड पूँजीबाट उद्यमी बनेको बताए । उनले भने, ‘खोकनामा तितौरा उत्पादन भएको छ । धापाखेलमा जुत्ता बनाउने काम सुरु गर्नु भएको छ । ’
ललितपुर महानगर १३ का वडा सदस्य सरु जोशीले महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म सशक्त नहुने बताउँदै महिलालाई उद्यमशीलतासँग जोड्न यो केन्द्र सञ्चालनको ल्याएको बताइन् ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता उद्योग, संस्कृति पर्यटन समितिका संयोजकको उपस्थिति रहेको छ।
बासुकी नाग महिला समूहकी अध्यक्ष कोपिला रिजालले आर्थिक रूपमा महिला आत्मनिर्भर नभएसम्म सशक्तिकरण नहुने बताइन् ।