काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार पारिएको जैविक ऊर्जा रणनीतिले यस्तो महत्वकांक्षी लक्ष्य लिएको हो । सरकारले सन् २०२२ सम्ममा आधुनिक जैविक ऊर्जा प्रविधिको प्रबद्र्धन गरि घरभित्रको धुवाँमुक्त नेपाल बनाउने र २०३० सम्ममा ठोस इन्धन प्रयोग गरि सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने योजना बनाएको छ । यसका लागि सरकारले विभिन्न निकाय र संस्थाहरुको सहयोगलाई एकद्वार प्रणालीमार्फत कार्यान्वयनमा लैजान वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय समितिको गठन गरेको छ ।
परम्परागत रुपमा प्रयोग हुंदै आएको दाउरा, गुँईठा जस्ता ऊर्जाका स्रोतलाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्न तथा वातावरण संरक्षण गर्ने उद्देश्य रणनीतिले लिएको वातावरण मन्त्री जयदेव जोशीले बताएका छन् । जैविक ऊर्जा प्रयोगमा ल्याउन सके बढ्दो एलपी ग्यासको खपत र परनिर्भरता प्रतिस्थापन गर्न सकिने उनले बताए । यसले गर्दा इन्धन आयातमा समेत कमि आउने छ ।
हाल करिब एक खर्बको हाराहारीमा नेपालमा इन्धन आयात हुने गरेको छ । शहरी क्षेत्रबाट उत्पादित फोहोरबाट ऊर्जा उत्पादन गरि फोहोरमैला व्यवस्थापनमा सहयोग पुर्याउने सरकारको अर्को उद्देश्य भएको जोशीले बताए । रणनीतिलाई प्रभावकारी ढंगबाट प्रयोग गरिएमा वन जंगल र वातावरणको संरक्षण हुनुका साथै जैविक ऊर्जाको उचित प्रयोगबाट जैविक स्रोत र साधनको सदुपयोग हुने मन्त्री जोशीले बताए । ‘आधुनिक जैविक ऊर्जाको विकास गर्ने नीति सरकारको उनले भने । ले लिएको छ । ’
बायोडिजेल र बायोइथानोलको प्रयोगबाट डिजेल र पेट्रोलको प्रयोगमा कमि ल्याउनका लागि कृषिजन्य अवशेष तथा जैविक फोहोरलाई उपयोग गरि दिगो जैविक ऊर्जाको उत्पादनमा बृद्धि गर्ने रणनीतिमा उल्लेख गरिएको छ । यसबाट नेपालका सबै घरधुरीमा स्वच्छ ऊर्जाका खाना पकाउने प्रविधि पुग्ने मन्त्रालयले बताएको छ ।
नेपालमा हालसम्म वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र मार्फत लघु तथा साना जलविद्युत आयोजनाबाट देशभर २९ मेगावाट विद्युत उत्पादन, १३ लाख भन्दाबढि घरधुरीमा सुधारिएको चुलो, ३ लाख ८० हजारभन्दा बढि बायोग्यास प्लाण्ट, ६ लाख ५० हजारभन्दा बढि सौर्य ऊर्जा प्रणाली जडान भै सकेको छ । ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा परम्परागत दाउरा लगायतका ऊर्जाको प्रयोग भइरहेको मन्त्रालयको तथ्याङ्क छ । यसलाई पूर्ण रुपमा विस्थापित गरि सरकारले नेपाललाई धुवाँमुक्त बनाउने लक्ष्य लिएको छ ।
वार्षिक करीव ७ हजार ५ सय व्यक्तिको मृत्यु घरभित्रको वायुप्रदुषणले गर्दा लाग्ने विभिन्न रोगबाट हुने गरेको पाईएको छ । पछिल्लो ‘राष्ट्रिय जीवनस्तर निर्धारण सर्वेक्षण’ को प्रतिवेदन अनुसार करीव ३० लाख घरधुरीको पहुँच सुधारिएको चुलो पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत् उन्नत सुधारिएको चुलोहरु, बायोग्यास, सौर्य कुकर/ड्रायर लगायतका खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिहरुको प्रवद्र्धन र विस्तारमा जोड दिएको छ ।