
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनबारे छलफल भएको छ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको हो ।
सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेको र त्यसको पूर्वतयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो ।
उक्त छलफलमा खासगरी अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र बाहिरको सभावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर मन्त्रालयहरूबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयमा छलफल केन्द्रित रहेको नाडाले जनाएकाे छ ।
सो मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषणगरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर-तह/अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाडाैंमा आयोजना गर्न लागिएको हो ।
यसैगरी, सो मन्त्रालयले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालसँग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टलसमेत रहने छ ।