काठमाडौं । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता)को अभाव टरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुँजी, कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो ७९ प्रतिशतबाट करिव ७६ प्रतिशतमा झरेको छ । अन्तर बैंक व्याजदर १.५ प्रतिशतमा झरेको छ । बैंकहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार चैत १ गते बाणिज्य बैंकहरुबीचको अन्तर बैंक ब्याजदर १ दशमलब ५ प्रतिशतमा झरेको छ । विकास बैंक तथा वित्तिय संस्थाहरुका हकमा अन्तरबैंक व्याजदार अझै ७ प्रतिशत छ ।
पौडेलका अनुसार गत माघ १० गते वाणिज्य बैंकहरुबीचको अन्तर बैंक व्याजदर ९ प्रतिशत थियो भने विकास बैंक र फाइनान्स कम्पनीबीचको अन्तर कारोबार १० प्रतिशतमा झरेको छ ।
वित्तीय बजारमा लगानी योग्य पुँजीको अभाव नभएको उनले बताए । ‘अहिले बजारमा लगानी योग्य पुँजीको अभाव छैन, अन्तर बैंक ब्याजदर घट्नुले पनि त्यसको पुष्टि गर्छ’ केन्द्रीय बैंकका प्रवक्ता पौडेलले विकासन्युजसँग भने ।
तरलताको सकस कम हुनुमा मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाले ठूलो भूमिका खेलेको बैंकरहरु बताउँछन् । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा उत्पादन मुलक क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशत रकम मात्र सीसीडीमा गणना गर्न सकिने नीति आएपछि सीसीडी अनुपात ७६/७७ प्रतिशतमा झरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लगानी योग्य पूँजीको अभाव समाप्त नभएको तर केहि कम भएको बताए । मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षाले कर्जा लगानीका लागि थप करिब ६० अर्ब रुपैयाँको सुबिधा दिएकाले स्थीति सहज भएको उनले बताए । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर बाँडफाँडपछिको एक सातामा ३ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट बाहिरीएको छ ।
तथ्याङ्कले भने बैकिङ क्षेत्रमा कर्जा र निक्षेप दुबै वृद्धि नभएको देखाउँछ । फागुन २० गते वाणिज्य बैंकहरुको कुल निक्षेप १८३७ अर्ब थियो । फागुन २७ गते १८३४ अर्ब रुपैयाँमा झरेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर बाँडफाँडपछिको एक सातामा ३ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट बाहिरीएको छ ।
निक्षेपसँगै कर्जा पनि घटेको छ । फागुन २० गते वाणिज्य बैंकहरुको कुल कर्जा १६३३ अर्ब रहेकोमा २७ गते १६२९ अर्ब रुपैयाँ रहेको छ । यसले बैंकहरु कर्जा लगानी नगरी बसेको देखिन्छ ।
समग्र वित्तीय क्षेत्रमा कर्जा र निक्षेपको आकारमा संकूचन देखिए पनि निक्षेपको व्याजदर घट्न सक्ने संकेतहरु देखिन थालेका छन् । एभरेष्ट बैंकले विहीबार प्रकाशिन गरेको नयाँ व्याजदरमा मुद्दती खातामा बढीमा ११ प्रतिशत दिने उल्लेख गरिएको छ । जबकी गत सातासम्म धेरै वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा मुद्दती बचत गर्न सर्वसाधारणलाई अपिल गर्दै विज्ञापन छाप्दै आएका थिए । पछिल्लो साता यस्ता विज्ञापन प्रकाशित हुने क्रम निकै कम भएको छ ।
सरकारले स्थानीय तहलाई करिब ८ अर्ब निकासा दिने निर्णय गरेको र स्थानीय तहलाई बैंकमा खाता खोल्न निर्देशन दिइसकेकोले अब बजारमा पैसा आउने विश्लेषण गर्छन सिटिजन्स बैंक इन्टरनेशलनको डेपुटी सीईओ गणेशराज पोखरेल । ‘नेपालको वित्तीय बजार सानो छ, २०/३० अर्ब यताउता हुँदा बजारमा ठूलो असर गर्छ’ पोखरेल भन्छन्–स्थानीय तहलाई निकासा गरिको ८ अर्ब छिट्टै बजारमा आउँछ । सरकारले चुनावमा २५/३० अर्ब खर्च गर्छ । आर्थिक वर्षको अन्त्यमा विकास खर्च पनि बढ्छ । अब बैंकमा निक्षेप वृद्धि हुन्छ ।’
यो आर्थिक वर्षको अन्त्यमा विकास खर्च कम हुने विश्लेषण छ नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलको । ‘निर्वाचन सँगै आचारसंहिता लागेको छ । अब सरकारले रकमान्त गर्न सक्दैन । सरकारी खर्च झन् गाह्रो छ’ पोखरेलले भने–‘यो आर्थिक वर्षभरी बैंकको व्याजदर घट्दैन ।’ संस्थागत निक्षेपको हिस्सा अहिले पनि १२ प्रतिशतभन्दा माथि रहेको उनले बताए ।
निक्षेपकाे व्याज नघटी कर्जाकाे व्याज घट्दैन । पछिल्लाे समय कल एकाउण्टकाे व्याजदर घटेकाे गणेशराज पाेखरेलले बताए । तर बचत र मुद्दती खातामा व्याजदर घटेकाे छैन ।