भीआईपी व्यवसायीको हायर पर्चेज व्यापार : कसलाई नाफा, कसलाई घाटा ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था गरेको छ । हायर पर्चेज कम्पनीमा पनि ठूलो परिमाणको कारोबार तथा लेनदेन हुने भएकोले राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि यस्तो व्यवस्था गरेको हो । आज हामीले हायर पर्चेज कम्पनीमा आवद्ध व्यवसायी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था गरेको छ । हायर पर्चेज कम्पनीमा पनि ठूलो परिमाणको कारोबार तथा लेनदेन हुने भएकोले राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि यस्तो व्यवस्था गरेको हो ।

आज हामीले हायर पर्चेज कम्पनीमा आवद्ध व्यवसायी र ती कम्पनीको आम्दानी तथा नाफा केलाउने प्रयास गरेका छौं । नेपाल राष्ट्र बैंकका अनुसार १० वटा हायर पर्चेज कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका छन् । त्यसमध्ये हामीले सात वटा हायर पर्चेज कम्पनीको आम्दानी तथा व्यापार प्रस्तुत गरेका छौं ।

अग्नी हायर पर्चेज प्रा.लि

सन् २०१४ मा स्थापित अग्नी हायर पर्चेज कम्पनीको आम्दानी ८३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा १ करोड ५० लाख आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले १ अर्ब ५० करोड ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको कम्पनीको सन् २०२४ मा ४१ करोड ४० लाख रुपैयाँ रहेको पुगेको छ ।

क्याबिनेट श्रेष्ठ ।

यस कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन् ।

भेन्चर हायर पर्चेज प्रालि

भेन्चर हायर पर्चेज प्रालिको कुल सञ्चालन आम्दानी ५६.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कुल ४३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको यस कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।

चन्द्रप्रसाद ढकाल ।

सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् ।

हुलास फिनसर्भ हायर पर्चेज

हुलास फिनसर्भ हायर पर्चेजको सञ्चालन आम्दानी पनि सामान्य वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीको सञ्चालन आम्दानी क्रमशः ६१ करोड ३० लाख र ५२ करोड १० लाख रुपैयाँ थियो ।

कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०२४ मा १ अर्ब २४ करोड ७० लाख र सन् २०२५ को सुरुवातमा कम्पनीको नेटवर्थ १ अर्ब २९ करोड ७० लाख रुपैयाँ पुगेको छ । हुलास फिनसर्भ हायर पर्चेजमा गोल्छा समूहको लगानी छ । जसको स्थापना सन् २०१२ मा भएको थियो ।

शेखर गोल्छा ।

सुरुमा हुलास इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको नाममा स्थापना भएको कम्पनी सन् २०२१ मा नाम परिवर्तन भएर हुलास फिनसर्भ हायर पर्चेज प्रालि राखेको थियो । कम्पनीमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको ८५ प्रतिशत सेयर रहको छ । बाँकी १५ प्रतिशत सेयर अन्य ६ वटा सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् ।

एमएडब्लू हायर पर्चेज

एमएडब्लू हायर पर्चेजले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । सन् २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको नेटवथृ सन् २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।

सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ ।

विष्णुकुमार अग्रवाल ।

यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् ।

ओम्नी हायर पर्चेज प्रालि

ओम्नी हायर पर्चेज प्रालिको कुल आम्दानी १८ प्रतिशतले घटेको छ । सन् २०२३ मा ३० करोड ९० लाख कुल आम्दानी आर्जन गरेको कम्पनीले सन् २०२४ मा २५ करोड ४० लाख मात्र आम्दानी गरेको छ ।

सन् २०२१ र २०२२ मा कम्पनीले क्रमशः ३३ करोड र ३२ करोड ५० लाख आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ पनि घटेको छ । सन् २०२३ मा ८४ करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेकोमा सन् २०२४ मा ८२ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले २ अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् १९९१ मा ओम्नी प्राइभेट लिमिटेडको रूपमा स्थापित यस कम्पनीले सन् २०२३ मा नाम परिवर्तन गरेर ओम्नी हायर पर्चेज प्राइभेट लिमिटेड राखेको थियो ।

यो कम्पनी ओम्नी ग्रुपको हो । कम्पनीमा तीन वटा सेयरधनीको लगानी छ । आत्मा राम काबरा ४५ प्रतिशत, हरी नारायण काबराको ४५ प्रतिशत र सन्दीप कुमार मोहतको१० प्रतिशत सेयर स्वामित्व यस कम्पनीमा छ ।

सिप्रदी हायर पर्चेज

सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२४ को ९ महिनासम्म ४० करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको देखिएको छ । सन् २०२३ मा कम्पनीको यस्तो आम्दानी ५२ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२१ र सन् २०२२ मा कम्पनीको कुल आम्दानी क्रमशः ७७ करोड १० लाख र ६७ करोड ८० लाख रुपैयाँ थियो ।

कम्पनीको नेटवर्थ भने वृद्धि भएको छ । सन् २०२० मा ७३ करोड, सन् २०२१ मा ७८ करोड ४० लाख, सन् २०२२ मा ९२ करोड ३० लाख, सन् २०२३ मा ९४ करोड र सन् २०२५ मा ९६ करोड आम्दानी कम्पनीले गरेको छ ।

सिद्धार्थ राणा ।

४ अर्ब १० करोड ऋणका लागि कम्पनीले रेटिङ गराएको छ । सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । कम्पनीको अध्यक्ष सिद्धार्थ राणा हुन् ।

स्याकर हायर पर्चेज कम्पनी

ज्योति ग्रपको लगानी रहेको स्याकर हायर पर्चेजले स्याकर ट्रेडिङ कम्पनीमार्फत् काम गरिरहेको छ । स्याकर हायर पर्चेजको मात्रै आम्दानी सार्वजनिक नभए पनि स्याकर ट्रेडिङको भने आम्दानी सार्वजनिक भएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार स्याकर ट्रेडिङ कम्पनीले सन् २०२४ मा ४ अर्ब ९५ करोड ८० लाख रुपौयाँको सञ्चालन आम्दानी गरेको छ भने सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाखर सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो ।

सौरभ ज्योति ।

तर, यो आम्दानी स्याकर हायर पर्चेजको मात्रै होइन । यो समग्र स्याकर ट्रेडिङको हो । जसले होण्डाका मोटरसाइकल बिक्री गर्दै आएको छ । यस कम्पनीको नेतृत्व सौरभ ज्योतिले गरिरहेका छन् ।

हायर पर्चेज कम्पनीको व्यापार विगतको तुलनामा औसतमा केही सुधार देखिएको छ । हुलास फिनसर्भ हायर पर्चेज प्रालिका महाप्रबन्धक समिर ठाकुर अटोमोबाइल्स क्षेत्रमा पछिल्लो वर्षमा केही सुधार देखिएकाले हायर पर्चेजको आम्दानी पनि वृद्धि हुन पुगेको बताउँछन् ।

हुलास हायर पर्चेजको हकमा कम्पनीले रेट र फोर्टफोलियो पनि वृद्धि गरेकाले आम्दानी वृद्धि हुन पुगेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले अघिल्ला वर्षहरुको तुलनामा धेरै सवारी साधनका लागि फाइनान्सिङ गरेको छ ।

Share News