हेमबहादुर गुरुङ : विदेश जानेका सारथी, विप्रेषणका प्रवर्द्धक

लगानीमा विविधिकरण गर्दै

काठमाडौं । एउटा व्यक्तिलाई सपना साकार पार्न वर्षौं लाग्छ । कतिपय मानिसहरू चाहेको पुरा भएन, जीवन सोंचेजस्तो भएन भन्दै आफैलाई धिक्कार्छन् । तर, यहाँ कुरा आफ्नोमात्रै छैन, दुनियाँको सपना साकार पार्न र आफ्नो बिजनेस ग्राफ बढाउन तल्लीन छन् व्यवसायी हेमबहादुर गुरुङ । उनको नाम मेनपावर व्यवसायमा परिचित छ । एसओएस ग्रुपमार्फत सञ्चालित एसओएस मेनपावर सर्भिसका सञ्चालक गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् ।

पछिल्लो समय व्यावसायिक जगतमा गुरुङको परिचय फेरिँदै गएको छ । नेपाल सरकारलाई सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रूपमा यही वर्ष सम्मान गरेको सिटी एक्स्प्रेस मनी ट्रान्सफरका अध्यक्ष हुन् उनी । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर स्वास्थ्य सेवाको क्षेत्रमा प्रभावकारी बन्दै उदाएको चिरायु हस्पिटलका अध्यक्ष पनि हुन् उनी । त्यस्तै, मेगा कलेज, कतार भिषा सेन्टर, होटल मनाङका अध्यक्ष रहेका गुरुङ विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थापक लगानीकर्ता पनि हुन् ।

अहिले देशका युवाहरू विदेश जान लालायित छन् । विदेश जानुलाई सपनाको रूपमा लिइरहेका छन् । स्वदेश छाड्नुलाई ठूलो सफलता मानिरहेका छन् । यही प्रसंगलाई स्मरण गर्दै गुरुङ भन्छन्, ‘एकदिन म बबरमहलस्थित मेगा कलेजको विद्यार्थीसँग अन्तक्र्रियामा बसेँ, उहाँहरूलाई तपाईंहरूमध्ये कति जनाको विदेश जाने रहर छ भनेर सोध्दा ९० प्रतिशतले हात उठाए, अहिले अधिकांशले विदेश जानुलाई फेसनका रूपमा बुझेका छन्, जुन विडम्बना हो ।’

त्यस्तै, विदेश जाने सोंच, सपना र संघर्ष गरिरहेकाहरूको सारथी बनिरहेका छन् गुरुङ । कास्कीको पोखरामा सन् १९६४ मा जन्मिएका उनको स्कुले जीवन भने भारतमा बित्यो । बुबा भारतीय सेना भएकै कारण उनले उच्च शिक्षाको अध्ययन पनि उतै गरे । उनले ब्याचलर्स अफ होटल म्यानेजमेन्ट पढे । बीएचएम पढेको कारण उनले विभिन्न ठाउँमा काम गर्ने अवसर पाए । पढाइ पनि मिल्ने अनुभव पनि हुने भएकोले होटलमा काम गर्न उनी साउदी अरेबिया पुगे । २९ वर्षको उमेरमै होटलको जनरल म्यानेजर (जीएम) बने । उनी भन्छन्, ‘त्यतिखेर म योङ्गेष्ट जीएम थिएँ ।’ कामप्रतिको लगाव र मिहिनेतले आफू छ्टिटै जीएम बनेको उनी बताउँछन् ।

सन् १९९६ मा गुरुङको जीवनले नयाँ मोड लियो । उनले नेपालमै एसओएस मेनपावर सर्भिस नामक कम्पनी स्थापना गरे । नेपालमा वैदेशिक रोजगारीको महत्वलाई बुझेर उनले आफ्नो व्यावसायिक यात्रा यही व्यवसायबाट सुरु गरेका हुन् । यो तीन दशकमा कम्पनीले विभिन्न आरोह–अवरोहहरू बेहो¥यो । उनले पनि धेरै अनुभवहरू प्राप्त गरे । हजारौं युवालाई विदेश उडाए ।

देशभित्र आवश्यक मात्रामा रोजगारी सिर्जना नहुनु मुलुकको गम्भीर समस्या हो । घर, परिवार, समाज, देश छोडेर वैदेशिक रोजगारीमा जानु युवाहरूको बाध्यता हो । अभाव र बाध्यताबीच विकल्प बनेको छ वैदेशिक रोजगारी । वैदेशिक रोजगारीबाट आर्जित विप्रेषण नेपालको जीडीपीमा झण्डै २५ प्रतिशत हिस्सा रहेको छ । विदेशी मुद्रा आर्जनको मुख्य स्रोत भएको छ । देशले वार्षिक करिब १५० अर्ब रुपैयाँ बराबरको निर्यात गर्दै गर्दा वार्षिक १५०० अर्बभन्दा बढी विप्रेषण आर्जन गर्दैछ । सरकारको राजश्वको निर्भरतासमेत विप्रेषण आयले चलाएको अर्थचक्रमा निर्भर भएको छ ।

‘विदेसिनु रहर होइन, बाध्यता हो । स्वदेशमा रोजगारी नपाएकै कारणहरू युवा बाहिरिरहेका छन्, उनीहरूलाई हामीले सहजीकरणमात्रै गरेका हौं,’ गुरुङ भन्छन्, ‘आज युवाहरू विदेसिएकै कारण विदेशी मुद्रा बढिरहेको छ, रेमिट्यान्स बढिरहेको छ, देशको अर्थतन्त्रमा राहत मिलेको छ ।’

नेपालका हरेक पेशा व्यवसायमा नाम भन्दा बदनाम कमाउनेको भिजिविलिटी (दृष्यता) बढेको छ । म्यानपावर क्षेत्रमा पनि यस्तै छ । सबैलाई सामान्यीकरण गर्ने र सबै बदमास हुन् भन्ने भाष्य सिर्जना गरिँदैछ । तर गुरुङले आफ्नो व्यावसायिक क्षेत्रमा राम्रो छवि बनाएका छन् । उनी व्यवसायमा ‘थ्री आई’ अर्थात् इन्टिग्रिटी (इमानदारिता), इन्टेन्शन (नियत) र इन्ट्रेष्ट (इच्छा) राम्रो छ भने सहज रूपमा सफल बन्न सकिने धारणा राख्छन् । उनका अनुसार अहिले एसओएस मेनपावरबाट वार्षिक ५/६ हजार युवा विदेश गइरहेका छन् ।

‘वार्षिक ५/६ हजारलाई विदेश उडाइरहेका छौं, यो क्षेत्रमा काम गरेको ३० वर्ष भयो, अहिलेसम्म डेढ लाख बढीलाई विदेश पठायौं होला,’ उनी भन्छन्, ‘गुणस्तरीय सेवालाई प्राथमिकता दिएकै कारण लाखौंले हामीलाई विश्वास गरेका छन्, हामीलाई रोजेका छन् ।’

गुरुङले मेनपावर कम्पनी खोल्नुको मुख्य उद्देश्य व्यवसायमात्रै नरहेको बताउँछन् । उनीहरूको भविष्यका लागि आवश्यक तालिम, सीप तथा प्रशिक्षण प्रदान गरेर काम गर्न सक्षम बनाउने उनको भनाइ छ । नेपालमा रोजगारी नपाएर बसेकाहरूलाई सीपयुक्त बनाएर विदेश पठाउने र उनीहरूले नेपाल पठाएको रेमिट्यान्सले उनीहरूको परिवारसँगै देश धान्ने स्थिति पुगेको उनी बताउँछन् ।

गुरुङले आफूले व्यवसायभन्दा पनि कम्पनीबाट मानवीय धर्म पनि निर्वाह गरिरहेको बताउँछन् । ‘हामीले विभिन्न समयमा सामाजिक काम पनि गर्दै आएका छौं, केही वर्षअघि लिबियामा तनाव सिर्जना हुँदा हाम्रै कम्पनीले आफ्नै खर्चमा ९ सय जना कामदारलाई उद्धार गरेर नेपाल ल्याएका थियौं । पछि सरकारले पैसा भुक्तानी ग¥यो, हामी व्यवसाय मात्रै गर्दैनौं । समस्या परेको बेला सहजीकरण र साथ पनि दिइरहेका छौं,’ उनले भने ।

गुरुङका अनुसार कम्पनीले विदेश जानुअघि उनीहरूलाई आवश्यक सीप र प्रशिक्षण दिने अभ्यास छ । ‘हामी कामदारलाई केवल विदेश पठाउने काम मात्रै गर्दैनौं, उनीहरूलाई कामका लागि योग्य पनि बनाउँछौं,’ उनले भने । उनले नेपाली समाजमा रोजगारका अवसरहरूको सिर्जना गर्न र कामदारलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

गुरुङका अनुसार एसओएस मेनपावरले अहिले १८ सय बढी कर्मचारीलाई रोजगारी दिएको छ । नेपालमा सबैभन्दा बढी युवालाई विदेश पठाउने मेनपावर कम्पनी नै एसओएस मेनपावर सर्भिस रहेको उनको भनाइ छ । अहिले विश्व बजारमा नेपालीहरू फिलिपिनीहरूको रिप्लेस हुने गरेको उनले सुनाए । ‘अहिले फिलिपिनीहरूको रिप्लेस नेपाली नै हो, नेपालका कामदार कुनै पनि देशका भन्दा कम छैनन् । हाम्रो एक्सपोजर मात्रै छैन, जाने मान्छेहरू धेरै परिवर्तन भएका छन्,’ उनले भने ।

लगानीमा विविधिकरण

मेनपावर व्यवसायीका नामले परिचित गुरुङले व्यवसायमा पनि विविधिकरण गरेका छन् । एसओएस मेनपावर सर्भिसमा सफलता प्राप्त गरेपछि उनले होटल तथा पर्यटन, शिक्षा, स्वास्थ्य र रेमिट्यान्स लगायत क्षेत्रमा लगानी गरेका छन् ।

गुरुङले मान्छेहरूलाई विदेश पठाउन सहजीकरण गरेपछि उनीहरूले विदेशबाट नेपाल पठाउने रेमिट्यान्सलाई पनि औपचारिक माध्यमबाट पठाउनका लागि आजभन्दा १७ वर्षअघि अर्थात सन् २००७ मा सिटी एक्सप्रेस मनी ट्रान्सफर स्थापना गरे । ‘वैदेशिक रोजगारीमा धेरै काम गरियो, बिजनेसमा विविधता ल्याउनुपर्छ भनेर सिटी एक्सप्रेसमा लगानी ग¥यौं, सिटी एक्सप्रेसमार्फत रेमिट्यान्स भित्र्याउने सरकारको नीतिमा थोरै भएपनि योगदान गरेको महसुस हुन्छ,’ उनले भने ।

सिटी एक्सप्रेसमा अहिले १६० जना बढीले रोजगारी पाएका छन् । सिटी एक्सप्रेस देशको एक प्रमुख रेमिट्यान्स कम्पनीका रूपमा परिचित छ । गत मंसिरमा सरकारले यस रेमिट्यान्स कम्पनीलाई उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको थियो । आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेकोमा उनले खुसी व्यक्त गरे ।

गुरुङले स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेका छन् । चिरायु अस्पतालका उनी अध्यक्ष हुन् । गुरुङ अस्पतालको अध्यक्ष बनेको ६ वर्ष भइसकेको छ । उनी नेतृत्वमा जानुअघि समस्यामा गुज्रिरहेको चिरायु अस्पताल अहिले उत्कृष्ट सेवा दिने अस्पतालमध्येमा पर्छ । ६ वर्षअघि अस्पतालमा कार्यरत कर्मचारीले ४/५ महिनादेखि तलबसमेत नपाइरहेको अवस्था थियो । तर, अहिले कर्मचारीले नियमित तलब पाइरहेका छन् ।

विगत स्मरण गर्दै गुरुङ भन्छन्, ‘म अध्यक्ष बन्नेबेला अस्पताल एउटा समस्यामा गुज्रिरहेको थियो, कर्मचारीले लामो समयदेखि तलब पाएका थिएनन् । तर, पनि उनीहरू खुसीका साथ काम गरिरहेका थिए , तलब नपाएर त यस्तो खुसी छन् भने तलब पायो भने कति खुसी होलान् भन्ने मनमा लागिरह्यो । म अस्पतालको सुधारमा लागें, अहिले सबै राम्रो छ ।’

नेपाली स्वास्थ्य क्षेत्रमा पहिलो पटक वैदेशिक लगानी भित्र्याउने व्यक्ति पनि उनै गुरुङ हुन् । उनले चिरायु अस्पतालमा ५ मिलियन वैदेशिक लगानी भित्र्याए । ‘अहिले २ सय जना कर्मचारी छन्, कर्मचारी पनि खुसी छन्, सेवा पनि राम्रै छ,’ उनी भन्छन्, ‘एउटा ठूलो चुनौती लिएको थिएँ, सफल भएको महसुस हुन्छ ।’

उनले स्वास्थ्य क्षेत्रमा चिकित्सक तथा नर्सहरूको पलायनलाई भने चुनौतीका रूपमा देखेका छन् । ‘जागिर छोडेर विदेश जाने भनेको विश्वव्यापी ट्रेण्ड हो, आफ्नो भविष्य अन्य ठाउँमा खोज्नु स्वाभाविक पनि हो । अहिले नेपालका अस्पतालबाट विदेश जाने चिकित्सक तथा नर्सहरू पनि बढिरहेका छन्, चिरायु अस्पतालका सिनियर स्टाफ नर्सहरू पनि विदेश गइरहेका छन्,’ उनी भन्छन्, ‘यो अनुपात बढ्यो भने स्वास्थ्य क्षेत्रकै लागि चुनौती हुनसक्छ ।’

नेपाल र विदेशको तलबमा १५/२० प्रतिशतको मात्रै फरक हुने गुरुङको भनाइ छ । ‘एउटा होटलको वेटरले नेपालमा ४० हजार रुपैयाँ तलब पाएको छ भने विदेशमा ६० हजार रुपैयाँ पाइरहेको हुन्छ, उनी भन्छन्, ‘नेपालमा सरकारको अस्थिरताले विदेशमै राम्रो हुन्छ भनेर उनीहरू पलायन भइरहेका छन् । राजनीतिक दलले यसतर्फ साेंच्न सकेनन् ।’

गुरुङले बबरमहलस्थित मेगा कलेज र ठमेलमा रहेको होटल मनाङमा पनि लगानी गरेका छन् । उनले पर्यटनमा पनि ठूलो सम्भावना देखेका छन् । कतार भिसा सेन्टर पनि उनैले सञ्चालन गरिरहेको कम्पनी हो ।

दुबईस्थित एक होटलको जनरल म्यानेजरको जागिर छोडेर नेपाल फर्किएका हेमबहादुर गुरुङले करिब डेड लाख नेपालीलाई वैदेशिक रोजगारीमा जोडेका छन् । साथै, विप्रेषण व्यवसायबाट नेपाल सरकारलाई सर्वाधिक कर तिर्ने कम्पनीको नेतृत्व गरिरहेका छन् । स्वास्थ्य, शिक्षा, पर्यटन, वित्तीय क्षेत्रमा उनको उपस्थितिसँगै प्रभाव बढ्दो छ ।

अर्थतन्त्रमा टेवा, जीवनशैलीमा परिवर्तन

गुरुङको व्यवसायले एउटा सामान्य घरपरिवारदेखि देशको अर्थतन्त्रमा समेत सहयोग गरेको छ । देशमा रोजगारी नपाएर तड्पिरहेको एउटा सामान्य परिवारको युवकलाई सीप, प्रशिक्षण तथा तालिम दिएर विदेश पठाई रोजगारी सिर्जना गराउनमा गुरुङको ठूलो हात छ । विदेसिएका युवाको कमाइलाई औपचारिक माध्यमबाट नेपाल ल्याएर घर परिवारसामु बुझाउने काम उनको व्यवसायले गरेको छ ।

गुरुङ एसओएस मेनपावरबाट पठाएका कामदारहरूलाई सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउन आग्रह गर्छन् । रेमट्यिान्सले एउटा सामान्य घरपरिवारको जीवनशैली फेरिएको छ । देशको अर्थतन्त्रमा टेवा पु¥याएको छ । ‘हिजो एउटा परिवारले आज राम्रो जीवनशैली निर्वाह गरेको छ । छाक कसरी टारौं भन्ने समस्या हुँदैन, विदेशी मुद्राको अभाव भएर आयातमा समेत समस्या हुन सक्ने स्थितिबाट हामीले रेमिट्यान्स भित्र्याएर नै देशको विदेशी मुद्रा सञ्चिति बढाएका छौं । यसले समग्र देशको अर्थतन्त्रमै राहत मिलेको छ, रेमिट्यान्सकै कारण लाखौंले रोजगारी पाएका,’ उनी भन्छन्, ‘थोरै भए पनि देश विकासका लागि योगदान गरेको महसुस हुन्छ, यसमै सन्तुष्ट छु ।’

गुरुङले वैदेशिक रोजगारीले नेपाली समाजको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार युुवालाई विदेश पठाउनु आफूहरूको बाध्यता हो । उनी विदेसिएका युवाहरू विदेशमा सीप सिकेर नेपालमै फर्किऊन् भन्ने चाहन्छन् । त्यसका लागि सरकारले पनि नीतिगत व्यवस्थाबाट नेपाली स्वदेश फर्किन उत्साहित हुन सक्ने वातावरण सिर्जना गर्नुपर्ने उनको राय छ ।

‘सरकारले युवाहरूका लागि कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा सहज नीति ल्याएर उनीहरूको पुँजी र सीप नेपालमा प्रयोग गर्न सकियो भने देश विकास हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि कसैले पनि रोजगारीका लागि विदेश जानु पर्दैन ।’

गाउँको जमिनलाई कृषियोग्य बनाउनका लागि विदेशमा रहेकाहरूलाई त्यसमा लगानी गर्न सक्ने नीति सरकारले बनाउन सकेमा देशको अर्थतन्त्रमै टेवा पुग्ने गुरुङको विश्वास छ । ‘वैदेशिक रोजगारीको अवस्था थिएन भने हामी फेलियर भइसक्थ्यौं, विदेशी मुद्रा हामीसँग हुँदैनथियो, अहिले रेमिट्यान्सले नै लगानीका नयाँ क्षेत्र सिर्जना गरिरहेको छ, रोजगारी सिर्जजा गरिरहेको छ,’ उनी भन्छन्, ‘अब विदेशमा रहेकोहरूलाई स्वदेश फर्काउने नीति आवश्यक छ ।’

गुरुङ विदेशमा रहेका छोराछोरीबाट परिवारले पनि जानेबित्तिकै आशा गर्न नहुने सुझाव दिन्छन् । ‘अहिले विदेश जानेबित्तिकै पैसा कमाइहालिन्छ भन्ने सोंच छ, वैदेशिक रोजगारीले सामाजिक दबाब पनि सिर्जना गरिरहेको छ । विदेशमा कमाएर तीन महिनामा जग्गा किन्न सक्ने हैसियत हुन्छ भनेर बुझ्नु गलत हो,’ उनी भन्छन्, ‘अब परिवारलाई पनि ओरिन्टेसन दिन सक्नुपर्छ ।’

विदेशी पनि काम खोज्न आउन सक्छन्

गुरुङले नेपालमा प्रचुर सम्भावना देखेका छन् । सरकारले नीतिगत सहजता गर्न सक्यो र वैदेशिक लगानीलाई भित्र्याउन सकियो भने विदेशी पनि नेपालमा काम खोज्न आउन सक्ने वातावरण बनाउन सकिने उनी बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा विदेशी आएर पनि काम गर्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ, राज्यले पर्यटन क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने नीतिमा ध्यान दिनुपर्छ । कस्तो किसिमको पर्यटनलाई बढावा दिने र कस्तो किसिमको पर्यटक ल्याउने भन्ने विषयमा सरकारको स्पष्ट नीति हुनुपर्छ । पर्यटन, कृषि र जलविद्युतमा सहज नीति अगाडि सा¥यो भने देशमा लगानीमैत्री वातावरण बन्छ, रोजगारी सिर्जना हुन्छ ।’

नेपालको संस्कृति, परम्परा, हिमाललगायत क्षेत्रलाई छुट्याएर पर्यटनलाई विधागत रूपमा प्रोत्साहन गर्न सकिने गुरुङको बुझाइ छ । भारतको उदाहरण दिँदै उनी भन्छन्, ‘कुनै बेला भारतमा अटो क्षेत्र सामान्य थियो, सरकारले सो क्षेत्रलाई प्राथमिकता दिँदै सोहीअनुसारको नीति ल्याएपछि अहिले भारत अटो बजारमा विश्वको उत्कृष्ट देशमा पर्छ । विदेशी लगानीकर्ताको ध्यान भारतमा छ, अटो बजारमा भारत एउटा हब बनेको छ, सरकारले चाह्यो भने देश बन्छ ।’

उनका अनुसार नेपालमा रोजगारी दिने र पाउनेबीच खाडल छ । ‘यहाँ रोजगारदाताले कामदार पाइरहेका छैनन्, युवाले काम पाइरहेको अवस्था छैन, यो खाडल पुर्न आवश्यक छ । न्यूनतम पारिश्रमिक र महँगी बढी भएकोले पनि युवाहरू विदेसिने गरेका छन्,’ उनी भन्छन्, ‘विदेश जानु अहिले फेसनका रूपमा विकास भयो ।’

गुरुङका तीन छोरी र एक छोरा छन् । सबैले विदेशमा उच्च शिक्षा पढे । छोराछोरीलाई विदेशमा पढाए पनि उनले उनीहरूलाई नेपालमै फर्किन उत्प्रेरित गरे । नेपालमा भएको सम्भावनाको विषयमा बुझाए । अहिले उनीहरू नेपालमै काम गरिरहेका छन् । उनी आफ्नो व्यावसायिक सफलताको श्रेय आफ्नो भिनाजुलाई दिन्छन् । जसको साथ र सहयोगले उनी यहाँसम्म पुगे ।

विगत स्मरण गर्दै गुरुङ भन्छन्, ‘मलाई व्यवसायसम्बन्धि कुनै ज्ञान थिएन, त्यतिखेर भिनाजु (स्व.सोपलाल पाठकं) ले सरकारी जागिर छोडेर व्यवसायमा सहयोग गर्नुभयो । उहाँको सहयोगले नै आज मैले व्यवसायमा सफलता प्राप्त गरेको हुँ ।’

उनी आफ्नो परिवार र व्यावसायिक साझेदारको सहयोगले पनि व्यवसायमा सफलता मिलेको सुनाउँछन् । उनका सुरुवाती व्यावसायिक साझेदारहरू सुनिल गौतम, भरत खड्का, बिज्जु रावल, विष्णु पोखरेल, सुवास गौतम लगायतलाई अझै स्मरण गर्छन् । विष्णु र सुवासले भने अहिले साझेदारी छोडिसकेका छन् । सिटी एक्सप्रेसमा डोलराज शर्मा र चन्द्र टण्डनले पनि उनलाई ठूलो साथ दिएका छन् ।

विभिन्न व्यवसायबाट गुरुङले ५/६ हजार मानिसलाई रोजगारी दिएका छन् । ‘मेरो आफ्नै पनि व्यक्तिगत जीवनमा ठूलो परिवर्तन आएको छ, जीवनशैली र सोच परिवर्तन भएको छ । व्यावसायिक जीवनमा धेरै सफलता मिलेको महसुस गरेको छु । सम्बन्ध र नेटवर्किङ बढेको छ,’ उनी भन्छन्, ‘मेरो उद्देश्य नाफामात्रै होइन, देशलाई योगदान पनि गर्नु हो ।’

उनी अहिले सामाजिक जिम्मेवारी र देशको विकासमा योगदान दिने हिसाबले काम गरिरहेको बताउँछन् । ‘नेपालमा आशा मरेको छैन, देश बन्नेछ भन्ने विश्वास अझै छ,’ उनी भन्छन्, ‘आफ्नो ठाउँबाट हुन सक्ने काम गरिरहेको छु, सबैले हातेमाले गरेर अगाडि बढ्यो भने एकदिन देश अवश्य बन्छ ।’

Share News