काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएका खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जानकारी दिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलियाले उनीहरूलाई पढाउन आफूहरू तयार रहेको बताए । यो विषयमा शिक्षा मन्त्रायसँग कुरा गरिसकेको बताउँदै उनले विद्यार्थीलाई भारत फर्केर त्यही कलेजमा पढ्न असहज भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालय ती विद्यार्थीलाई भर्ना लिने बताए ।
विकासन्युजसँग कुरा गर्दै थपलियाले भने, ‘धेरै विद्यार्थी स्वदेश फर्किएको सुनेका छौं, अब उनीहरू भारत जाने कि नजाने भन्ने विषयमा दुविधामा छन्, नेपालमै पढ्न इच्छुक भए हामी पढाउन तयार छौं, यसका लागि विद्यार्थीले शिक्षा मन्त्रालयसँग समन्वय गर्नुपर्छ, हाम्रो पनि कुरा भइसकेको छ ।’
हिमालयन ह्वाइट हाउस कलेजका प्रिन्सिपल तोयनारायण पौडेलले नेपालमै पढ्न चाहने विद्यार्थीलाई सिट उपलब्ध गराउन सकिने बताए । उनले वीरगञ्जमा दुई सय बढी विद्यार्थी अन्योलमा बसिरहेको बताउँदै उनीहरूले नेपालमै पढ्न चाहे भर्ना लिन तयार रहेको धारणा राखे ।
उनले भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थीले पढिरहेका ९५ प्रतिशत विषय आफ्नै कलेजमा रहेको बताउँदै नेपालमा पढ्न खोज्दा पनि कुनै समस्या नहुने बताए ।
‘भारत र नेपालको पाठ्यक्रम प्राय: हुने एउटै हो,’ पाैडेल भन्छन्, ‘नेपालमै पढ्न चाहने हो भने हामी दुवै देशको पाठ्यक्रम राखेर पढाउँछौं, पढिसकेको विषयलाई पढाइराख्न परेन, बाँकी रहेको कोर्सलाई हामी यहीं पढाउन सक्छाैं ।’
विद्यार्थीका गुनासाे सुनेर निर्णय लिइने
शिक्षा मन्त्रालयललाई भने कति नेपाली विद्यार्थी स्वदेश फर्किए भन्ने समेत जानकारी छैन । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा नेपाल फर्किएका विद्यार्थीको हकमा के गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्ने बताउँछन् ।
शिक्षा मन्त्रालयले यसका लागि सहायता कक्षा राखेको बताउँदै सापकोटाले त्यसमा आएका गुनासाे अनुसार मन्त्रालयले निर्णय गर्ने बताए । ‘हामीले हेल्प डेस्क राखेका छौं, नेपाल फर्किएका विद्यार्थीले त्यसमा गुनासाे राख्न सक्छन्,’ उनी भन्छन्, ‘त्यसमा आएका गुनासाे र केआईआईटीको पछिल्लो अवस्थाबारे छलफल गरेर के गर्ने भन्ने विषयमा छलफल गरिसकेपछि निर्णय लिन्छाैं ।’
विभिन्न नाकाबाट करिब तीन सय नेपाली विद्यार्थी फर्किएकाे बुझिएको छ । कलेज प्रशासनले गरेको दुर्व्यवहारले पढ्ने वातावरण नमिलेको भन्दै उनीहरू स्वदेश फर्किएका हुन् ।
होस्टेलबाट गलत्याएर बीच सडकमा पुर्याइका विद्यार्थी पूर्वी नेपालका विभिन्न नाका हुँदै नेपाल फर्केका हुन् । नेपाली विद्यार्थी प्रकृतिको मृत्युपछि उत्पन्न भएको विवादले नेपाली विद्यार्थीमाथि हातपात भएको थियो ।
होस्टेलमा बसिरहेका विद्यार्थीलाई रातारात गाडीमा हालेर बीच सडकमा छोडिदिएको घटनाले कलेज प्रशासनप्रति चौतर्फी आलोचना भइरहेकाे छ। नेपाल र भारत दुवै देशबाट आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेर अवस्था सहज भइसकेको भन्दै नेपाली विद्यार्थीलाई भारत फर्किन आग्रह गरेको छ ।
नेपाल फर्किएका विद्यार्थीहरूको शिक्षा के हुन्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक नै चिन्तित बनेका छन् । उनीहरूले अहिले पनि अवस्था ठीक नभएको भन्दै तत्काल फर्किन नसक्ने अवस्था रहेको बताएका छन् ।