ट्रेकिङ व्यवसायमा अनुभव नै योग्यता, एकद्वार प्रणाली अति आवश्यक

<p>नेपालको ट्रेकिङ व्यवसायमा अहिले धेरै परिवर्तन आइसकेको छ । ३० वर्षपछिको ट्रेकिङ व्यवसायलाई नियाल्दा प्रविधि, सुरक्षा, सुविधा व्यवस्थापनलगायका हिसाबले निकै आधुनिक बन्दै गएको छ । जसले आज यो व्यवसायलाई थप सहज, सुरक्षित र दिगो बनाएको छ । हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा आजजस्तो सहज वातावरण थिएन । प्रविधिको प्रयोग आजजस्तो छ्यापछ्याप्ती पनि भइसकेको थिएन । [&hellip;]</p>

नेपालको ट्रेकिङ व्यवसायमा अहिले धेरै परिवर्तन आइसकेको छ । ३० वर्षपछिको ट्रेकिङ व्यवसायलाई नियाल्दा प्रविधि, सुरक्षा, सुविधा व्यवस्थापनलगायका हिसाबले निकै आधुनिक बन्दै गएको छ । जसले आज यो व्यवसायलाई थप सहज, सुरक्षित र दिगो बनाएको छ ।

हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा आजजस्तो सहज वातावरण थिएन । प्रविधिको प्रयोग आजजस्तो छ्यापछ्याप्ती पनि भइसकेको थिएन । अहिलेजस्तो सामाजिक सञ्जालको प्रयोग पनि थिएन । सञ्चारको रूपमा रेडियो नै प्रचलित थियो । त्यतिबेला ट्रेकिङमा जाँदा कागजको नक्सामा भर पर्नुपर्थ्यो । तर अहिले मोबाइल इन्टरनेट, जीपीएस गुगल म्याप प्रयोग गर्न सक्छौं ।

त्यतिबेला हामीले ट्रेकिङ व्यवसाय सुरु गर्दा टेन्टमा बस्नु पर्ने बाध्यता थियो । सुरक्षाको हिसाबले जोखिमपूर्ण नै थियो । विशेषगरी महिला, वृद्ध तथा बालबालिकालाई जोखिम थियो । अहिले ट्रेकिङमा जाँदा लज र टी-हाउसहरूले राम्रो सुविधा दिइरहेका छन् ।

टेन्टमा बस्दा जथाभावी रुख काट्ने, फोहर फाल्ने, प्लाष्टिकको प्रयोग बढी हुन्थ्यो । अहिल वातावरणमैत्री ट्रेकिङको अवधारणाको विकास भइसकेको छ । त्यतिबेला दुई जना विदेशी लिएर ट्रेकिङ जानुपर्‍यो भने भारी बोक्ने, गाइड, किचन हेल्परसहित १२/१४ जनाको समूह नै चाहिन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । अहिले ट्रेकिङ व्यवसाय सुविधाजनक हुँदै गएको छ । ट्रेकिङ बुकिङ प्रमोशन र ट्रेकिङ प्याकेजहरू अनलाइनमार्फत सजिलै गर्न सकिने सुविधा छ । बाटो, पुल, रेष्टुरेन्ट तथा लज, होटलहहरूको संख्या बढ्दै गएको छ । जसले यो व्यवसायलाई थप सुविधाजनक र व्यवस्थित बनाएको छ ।

३० वर्षअघि नेपाल भित्रिने पर्यटकमा विविधता थिएन । सीमित देशहरूबाट मात्रै पर्यटक नेपाल भित्रिन्थ्यो । अहिले विभिन्न मुलुकबाट पर्यटक भित्रिन्छन् । पर्यटकको रोजाइमा पनि विविधता छ । पहिले साहसिक ट्रेकिङमा आउने पर्यटक धेरै हुन्थे । अहिले त्यो मात्रै नभएर फरक-फरक जस्तै पारिवारिक ट्रेकिङ, विलासी ट्रेकिङ सुरु भइसकेको छ । त्यस्तै फरक-फरक उद्देश्य बोकेर पर्यटकहरू नेपाल आउन थालेका छन् । कुनै पर्यटक हिमाल चढ्न, कुनै ट्रेकिङ त कुनै धार्मिक स्थल घुम्नलगाय विभिन्न उद्देश्यले नेपाल आउँछन्।

त्यस्तै, ३० वर्षअघि ट्रेकिङमा जाँदा स्वास्थ्यमा तलमाथि केही भइहाल्यो भने आकस्मिक उद्धार गर्न गाह्रो हुन्थ्यो । तर अहिले हवाई तथा सडकको पूर्वाधार देशैभरि पुगेको छ । अहिले हेलिकोप्टरबाट आकस्मिक रेस्क्यू गर्न सकिन्छ । प्राथमिक उपचारको लागि नजिकै स्वास्थ्य संस्थाहरू पनि उपलब्ध भइसकेका छन् ।

वातावरण संरक्षण गर्ने उद्देश्यसहित कम्पनी दर्ता

३० वर्षअघिको ट्रेकिङ क्याटरिङ सिस्टमबाट हुन्थ्यो । जंगलमै बस्ने, जंगलमै खाने त्यहीबाट निश्चित गन्तव्यसम्म पुगिन्थ्यो । त्यसरी यात्रा गर्दा रुखहरू मासिने, जताततै फोहर फैलिएको आफैले अनुभव गरें । यसरी जंगलको विनाश, जभाभावी फोहर नगरौं भन्ने उद्देश्यसहित पर्यावरणीय ट्रेकिङ कम्पनी दर्ता गर्‍याैं । सुरुमा हामी चार/ पाँच जना साथीहरू मिलेर संस्था दर्ता गर्यौं ।

धेरैले यो संस्थालाई एनजीओ/आइएनजीओ संस्था भनेर बुझ्ने गरेका छन् । एनजीओ/आइएनीओ नभएर व्यावसायीक रूपमै हामीले संस्था दर्ता गरेका हौं । वन तथा वातावरण, हिमालको संरक्षण, सम्वद्र्धन, विकास र स्थानीय समुदायलाई सचेतना जगाउने उद्देश्यसहित संस्था दर्ता गरेर सञ्चालन गर्‍यौं ।

त्यसभन्दा अगाडि कसैले पनि पर्यावरणसम्बन्धी कम्पनी दर्ता गरेको थिएन । यो नै नेपालको पहिलो पर्यावरणीय कम्पनी हो । हामीले संस्था दर्ता गरेर विभिन्न जनचेतना जगाउने क्याम्पेन सञ्चालन गर्‍याैं । पर्यावरणको संरक्षण, ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्जले पारेको असरबारे जनचेतना जगाउने काम गर्‍याैं । विस्तारै मानिसहरूमा जनचेतना फैलिँदै गयो ।

पर्यटनबाट राम्रो आयर्जन गर्न सकिन्छ भनेर मान्छेहरूले विस्तारै बुझ्न थालेसँगै बोटविरुवाको संरक्षण गर्नतिर लागे । त्यतिबेला हामीले संस्था नै दर्ता गरेर चलाएको अभियानले ट्रेकिङ व्यवसायमा ठूलो परिवर्तन आएको छ । अहिले गर्व महसुस हुन्छ । हामीले कम्पनी खुलेपछि अन्य कम्पनीहरू पनि खुले । अहिले त यो व्यवसायमा आवश्यकताभन्दा बढी कम्पनीहरू दर्ता भएर सञ्चालनमा छन् । हाम्रो पालामा कम्पनीको लाइसेन्स लिन निकै गाह्रो अवस्था थियो । बहुदल आएपछि संस्था ऐन खुकुलो भएपछि कम्पनी खुल्न सहज भयो । जसले गर्दा कम्पनी दर्ता र सञ्चालन हुने क्रम बढ्यो ।

अनुभवकै आधारमा अँगाल्न सकिने व्यवसाय

नेपालको अर्थतन्त्र माथि उठ्ने भनेको यही पर्यटन, हाइड्रोले नै हो । यिनीहरू एकअर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । त्यसमा पनि हाम्रो टुरिजम व्यवसाय सय रुपैयाँ कमाउनेदेखि सय अर्बसम्म कमाउनेलाई काम लाग्ने पेशा हो । ट्रेकिङ व्यवसाय गर्नको लागि डिग्री हासिल गर्नैपर्छ भन्ने हुँदैन । यहाँ सात कक्षा पढेदेखि पीचएचडी पढेकासम्मले व्यवसाय गर्न सक्छन् । यसमा कुनै बन्धेज छैन । यो अनुभवको आधारमा गर्ने व्यवसाय हो । नपढीकन हुँदैन भन्ने जुन मान्छेको बुझाइ छ त्यो गलत हो । यो व्यवसाय गर्नको लागि अनुभवका साथसाथै विभिन्न ठाउँ र देशको भाषा जान्नुपर्छ । विभिन्न हिमालदेखि लिएर ठाउँहरूसँग परिचित हुनुपर्छ ।

नेपाल पर्वतारोहण संघले समयसमयमा हिमालसम्बन्धी तालिम दिँदै आएको छ । संघले पर्वतारोहीका लागि पाठ्यक्रम नै तयार गरेको छ । ट्रेकिङ व्यवसायमा प्रवेश गर्न चाहनेले यस्ता तालिममा सहभागी भएर आफूलाई थप परिष्कृत बनाउन सक्छन् । यसबाहेक सरकार तथा स्थानीय तहले यो क्षेत्रको लागि बजेटको व्यवस्था गर्दिनुपर्छ । पर्यटन मन्त्रालयले पदयात्रा मार्ग आदिका लागि बजेट विनियोजन गरेको हुन्छ । यो पर्याप्त छैन ।

नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगार वृद्धि हुनुका साथसाथै अन्य विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पर्न जान्छ । पर्यटन राम्रो भएपछि कृषि उत्पादन बढ्छ । नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सके नेपालीहरू विदेशमा काम खोज्दै जानुपर्ने बाध्यतामा पनि कमी आउँछ । विश्वको धेरै जनसंख्या भएका भारत र चीनबाट पर्यटक भित्र्याउन सके हाम्रो नेपाल कहाँ पुग्छ ? पर्यटनमा पैसा नै पैसा छ । यसैले यो क्षेत्रको प्रवद्धनको लागि सरकारले ध्यान दिनुपर्छ । यसका लागि हामीले समयसमयमा सरकारसँग लबिङ गर्दै आएका छौं ।

यसैगरी, पर्वतारोहण क्षेत्रमा शेर्पा, गुरुङ, तामाङ अनि राईहरूको महत्त्वपूर्ण भूमिका छ । उनीहरूले ज्यान नै जाेखिममा राखेर पर्वताराेहण क्षेत्रमा सेवा दिँदै आइरहेका छन् । हामीले उनीहरूको याेगदान भुल्नु हुँदैन ।

पर्यटनमा एकद्वार प्रणाली आवश्यक

हामीले सरकारलाई पर्यटनमा एकद्वार प्रणाली बनाइदेऊ भन्दै आएका छौं । त्यस्तै, जति पनि लुकेर बसेका हिमालहरू, पदयात्रा मार्गहरू खोल्देऊ भनेका छौं । नयाँ हिमालहरू खोलेर मात्र हुँदैन, हिमाल खुला गरेसँगै उक्त क्षेत्रमा पर्यटक पुग्नको लागि सरकारले पूर्वाधारको विकास गर्नुपर्छ । त्यस क्षेत्रको प्रचारप्रसार प्रवर्द्धनमा सरकारले नयाँ ढंगबाट काम गर्नुपर्छ ।

धेरैको बुझाइ नेपालको पर्यटकीय क्षेत्र काठमाडौं, पोखरा, लुम्बिनी मात्रै भनेर बुझ्ने गरेको छ । त्यति मात्रै होइन । नेपालले देश नै पर्यटकीय क्षेत्र भनेर नीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ । त्यसो गर्न सके यहाँ वार्षिक ११ लाख हैन, करोडौं पर्यटक भित्रिन्छन् ।

नेपालमा लगानीमैत्री वातावारण छैन । युवाहरू विदेश पलायन हुने क्रम रोकिएको छैन । सरकारले ती विदेश पलायन भएका युवालाई स्वदेशमै बसेर आयआर्जन गर्ने वातावरण गर्दिनुपर्छ । यो क्षेत्रमा व्यवसाय गर्न चाहने युवाहरूलाई राज्यले सहुलियत प्रदान गर्नुपर्छ । सरकारले अनावश्यक लागू गरेका भ्याट खारेज गर्नुपर्छ ।

पछिल्लो समय कम्पनीहरूको सख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ । त्यसले कसैलाई राम्रो गर्दैन । ट्रेकिङ व्यवसायलाई व्यवस्थित बनाउन सरकार निजी क्षेत्र व्यवसाय एक जुट भएर लाग्नुपर्छ ।

सबै विदेशी पर्यटकहरू हिमाल चढ्न भनेर मात्रै आउँदैनन् । फरक-फरक उद्देश्यसहित नेपाल आएका ती सबै पर्यटकलाई समेट्नुपर्छ । नेपालमात्रै यस्तो देश हो, जहाँ असंख्य हिमशृंखला, पहाड, पर्वत, धर्मसंस्कृतिले भरिपूर्ण छ । पशुपति, लुम्बिनी, मुक्तिनाथजस्ता अनेकौं धार्मिकस्थल छन् । ती सबैको प्रवर्द्धन जरुरी छ । हामीले पर्याप्त पर्यटन प्रवर्द्धन गर्न सकेका छैनौं । हाम्रा प्रचार यही नजिक भारतमा समेत पुग्न सकेको छैन । नेपाललको प्रचारप्रसार अन्तर्राष्ट्रियस्तरमा पुग्नेगरी गर्नुपर्छ ।

(पहिलो पर्यावरण ट्रेकिङका प्रबन्ध निर्देशक तथा नेपाल पर्वताराेहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेसँग विकासन्युजकी बविता तामाङले गरेको कुराकानीमा आधारित)

Share News