काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार धार्मिक विधिअनुसार हवन, रुद्री पूजा गरेर भव्य रूपमा नगरपालिकाको भवन उद्घाटन गरी सञ्चलनमा ल्याइएको हो ।
नयाँ भवन सञ्चालनमा आएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो सेवालाई सहज र सरल बनाउँदै प्रभावकारी गर्ने जनाएको छ । नवनिर्मित भवनबाट प्रशासनिक कामकाजलाई सरल र पारदर्शी बनाउने नगर प्रखुम (मेयर) उपेन्द्र कार्कीले बताए ।
वातावरण संरक्षणमा जोड दिँदै सेवा प्रवाहमा थप सुधार ल्याउने योजना रहेको उनको भनाइ छ । मेयर कार्कीले आफ्नो कार्यकालमा विभिन्न सकारात्मक कामहरू गर्दै नगरपालिकालाई समृद्धिको मार्गमा अगाडि बढाउने बताए ।
नयाँ भवन उद्घाटनको रुद्री पूजामा नौवटै वडाका वडाअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो । भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतीक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, भवन अपाङ्गमैत्री रहेको छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ ।