‘बीमा समितिले अन्यथा निर्देशन दिएको अवस्थामा बाहेक सञ्चालक समितिले कार्यकारी प्रमुखकोे पद रिक्त भएको अवस्थामा उक्त पद तीन महिना भित्रपूर्ति गरिसक्नु पर्नेछ ।’
बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०६९ दफा ३८ को उपदफा ४ मा उक्त यो विषयले यतिबेला बीमा समिति र बीमा कम्पनीहरुलाई गिज्याईरहेको छ । आफैले बनाएर जारी गरेको यो निर्देशिका कार्यन्वयन गर्न बीमा समिति असफल भएको छ । बीमा कम्पनीका सञ्चालकहरुले निर्देशिका लत्याएर अगाडि बढिरहेका छन् ।
हाल सञ्चालनमा रहेकामध्ये ६ वटा कम्पनी प्रमुखविहीन छन् । कतिपय कम्पनीले पटकपटक प्रमुखको माग गर्दै सूचना जारी गरेका छन् । तर उनीहरुले योग्य व्यक्ति नपाएको भन्दै नयाँ नियुक्ती गरेका छैनन् । बीमा समतिले यही निर्देशिकामा बीमा कम्पनीको कार्यकारी प्रमुखको योग्यता तोकेको छ । तर बजारमा योग्यता पुगेका जनशक्तिको खाँचो रहेको कारण कम्पनीहरुलले प्रमुख भेट्टाउन सकेका छैनन् ।
स्नातकोत्तर गरेको र कानुनी रुपमा गठन भएको संस्थाको व्यस्थापकको रुपमा १० वर्ष काम गरेको व्यक्ति बीमा कम्पनीको प्रमुख हुन पाउने व्यवस्था छ । साथै, प्रमुख हुने व्यक्तिसंग बीमा क्षेत्रमा दुई बर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।
हाल प्रमुख विहिन कम्पनीहरुमध्ये गुराँस लाइफ इन्स्योरेन्स सबैभन्दा लामो अवधिदेखि प्रमुख छैन । यस कम्पनीमा करिब तीन बर्षदेखि प्रमुख छैन । २०६८ मा तत्कालिन प्रमुख कार्यकारी सुनिल देवकोटाले छोडेपछि केही समय आशिष सिंह नायब महाप्रबन्धकको रुपमा रहेका थिए । सिंहले पनि त्यो पद त्यागेपछि नारायण कुमार भट्टराई छन् ।
करिब ११ महिनादेखि एभरेष्ट इन्स्योरेन्स कायम मुकायम सहायक महाप्रबन्धक प्रदिप मोहन धौभडेलको नेतृत्वमा सञ्चालन भइरहेको छ । गत वर्षको फागुन ११ गते चुनिएको नयाँ सञ्चालक समितिले उनलाई फागुनदेखि नै त्यो पदमा रहने गरि नेतृत्वको जिम्मा दिएको थियो । यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा केवलकृष्ण श्रेष्ठ रहेका थिए । उनलाई आर्थिक अपचलन गरेको भन्दै कम्पनीले निलम्बित गरेको थियो ।
करिब १९ महिनादेखि नेको इन्स्योरेन्समा पनि प्रमुख पद खाली छ । गत जेठदेखि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा विश्वतिमिलाले नेतृत्व गरिरहेका छन । प्रिमियर इन्स्योरेन्ससंग मर्जर गर्ने पक्कापक्की भएपछि त्यसअघिका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माको कार्यवधि नथपिएको थियो । तर पछि यो मर्जरले भने पूर्णता पाएन ।
सिद्धार्थ इन्स्योरेन्सका तत्कालिन महाप्रबन्धक एस के तमोट र नेपाल इन्स्योरेन्सका तत्कालिन महाप्रबन्धक केशव दुवाडीले योग्यता नपुगेकै कारण कम्पनी छोड्नु परेको थियो । २०७० चैत १७ गतेदेखि सिद्धार्थ इन्स्योरेन्सको नेतृत्व बिरेन्द्र बैदवार क्षेत्रीले गरिरहेका छन । उनी कम्पनीमा कायम मुकायम महाप्रबन्धकको रुपमा कार्यरत छन ।
नेपाल इन्स्योरेन्सको कायम मुकायम महाप्रबन्धकको रुपमा करिब ६ महिनादेखि चन्द्रसिंह साउदले नेतृत्व लिइरहेका छन ।
संस्थागत सुशासन निर्देशिकामा उल्लेख अन्य विषयहरु पनि कार्यन्वयन हुन सकेका छैनन् । कार्यन्वन गर्न कठिन भएका र अव्यवहारिक विषय संशोधन गर्न लागेको बीमा समिति बताउदै आएको छ । तर उसले लामो समयदेखि यसमा काम गर्न सकेको छैन ।
आफैले बनाएको नियम अव्यवहारिक भएको बीमा समितिका अधिकारीहरुले पनि स्वीकार गर्दै आएका छन् । त्यसैले कार्यन्वयनमा जटिलता देखिएको उनीहरु स्वीकार गर्दछन् । ‘हामीले व्यवहारिकता पनि हेर्नुपर्छ, त्यसैले कडा रुपमा लागू गराउन नसकेका हौं,’ बीमा समितिका प्रवक्ता राजकुमार अर्यालले भने ।