काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । ‘आफै पाल्दै, आफै खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको पोषणका लागि कुखुरा वितरण गरेको जनाएको छ ।
पालिकाले छवटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । वितरण गरिएको कुखुरा पालेर महिलाहरूले आवश्यक रुपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको विश्वास छ ।
गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ ।
गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत पालिकाले वितरण गरिरहेको छ । कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले र दुईवटा अण्डा दिने पोथी वितरण गरिएको छ ।