काठमाडौं । नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाँदा ५६ अर्ब बाहिरिएको छ । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा चालु आर्थिक वर्षको ६ महिनामा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस शीर्षकमा बाहिरिने रकम भने घटेको छ । गत आवको सोही अवधिमा शिक्षातर्फ ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।
चालु आवको पौष मसान्तसम्म खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत यो अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो ।
पछिल्लो ६ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।