कानुनको धज्जी उडाउँदै बीमा कम्पनी, स्थापना कालदेखि नै छैनन् ‘डीसीईओ’, नियामक मौन

<p>काठमाडौं । कुनै पनि बीमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पद ३ महिनाभन्दा बढी रिक्त राख्न पाउँदैनन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि कम्पनीको डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्ने छ । ‘उपकार्यकारी प्रमुख पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नु पर्नेछ,’ निर्देशिकाको दफा २८ को [&hellip;]</p>


काठमाडौं । कुनै पनि बीमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पद ३ महिनाभन्दा बढी रिक्त राख्न पाउँदैनन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि कम्पनीको डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्ने छ ।

‘उपकार्यकारी प्रमुख पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नु पर्नेछ,’ निर्देशिकाको दफा २८ को उपदफा ३ मा लेखिएको छ ।

यसरी कानुनमा नै उल्लेख भएको व्यवस्थालाई बीमा कम्पनीहरूले वेवास्ता गर्दै आएका छन् । नियमनकारी निकायले पनि एक्सन लिन नसक्दा कम्पनीहरूले कानुनको लक्ष्मणरेखालाई मिच्दै आएका छन् ।

कानुनमै यस्तो व्यवस्था भए पनि यहाँ केही कम्पनीमा एक वर्षसम्म पनि डीसीईओविहीन छन् अनि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मौन रहेको छ ।

हाल नेपालमा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ८ वटा कम्पनीमा डीसीईओको पद रिक्त रहेको छ । केही कम्पनीमा महिनौंदेखि डीसीईओ पद रिक्त रहेको छ भने केही कम्पनीले स्थापनादेखि नै डीसीईओमा पदपूर्ति नै गरेका छैनन् ।

कुन-कुन कम्पनीमा छैनन् डीसीईओ ?

सन् नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेटलाइफ, नेशनल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफ इन्स्योरेन्समा डीसीईओ पद रिक्त रहेको छ ।

सन् नेपाल लाइफ ७औं वर्ष पार गरेर अहिले ८औं वर्षमा चल्दै छ । ८ वर्षमा प्रवेश गरेको कम्पनीले हालसम्म डीसीईओ पदमा कसैलाई नियुक्त नै गरेको छैन । अर्थात ८ वर्षसम्म कम्पनी डीसीईओ विहीन छ । यद्यपि कम्पनीले अबको १ महिनाभित्र डीसीईओ पाउने निश्चित भने छ ।

आईएमई लाईफको निवर्तमान सीईओ कवि फुँयाल सो कम्पनीमा डीसीईओ बन्दै छन् । स्रोतका अनुसार उनी अबको १ महिनाभित्रै सो कम्पनीको डीसीईओमा नियुक्त हुनेछन् । कुनै पनि कम्पनीको सीईओ भएपछि अर्काे कम्पनीमा आवद्ध हुनका लागि ६ महिना कुलिङ पिरियड लाग्नेछ । सोही कुलिङ पिरियड कुरेर बसेका छन् फुँयाल । उनी आईएमई लाइफबाट गत भदौ ७ गते बाहिरिएका थिए ।

फागुनको ७ गते उनको कुलिङ पिरियड सकिँदै छ । कुलिङ सकिएपछि उनी सनको डीसीईओ बन्ने बुझिएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स विगत ५ महिनदेखि डीसीईओ विहीन छ । गत भदौ २८ गते तत्कालिन डीसीईओ नवीन सुवेदीले राजीनामा दिएर बाहिरिएसँगै कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ ।

सो कम्पनीले पनि अबको केही दिनमा नै डीसीईओ पाउने निश्चित रहेको छ । सानिमा जीआईसीकी उपमहाप्रवन्धक रहेकी रेना रिजाल यूनाईटेड अजोडमा डीसीईओ बनेर जाँदै छिन् । उनी सानिमा जीआईसीबाट बिदाई पनि भएकी छिन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि विगत ५ महिनादेखि डीसीईओ विहीन रहेको छ । कम्पनीको तत्कालीन डीसीईओ अन्जु श्रेष्ठ गते भदौ ३० गते सीईओमा नियुक्त भएसँगै कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ ।

विदेशी स्वामित्वको कम्पनीहरू मेटलाइफले डीसीईओ पदको संरचना नै बनाएको छैन । प्राधिकरणले केही महिनाअघि डीसीईओ नियुक्त गर्नु भन्दै पठाएको पत्रको जवाफमा कम्पनीले डीसीईओ सरहकै काम गर्ने पद कम्पनीमा रहेको उल्लेख गरेर जवाफ पठाएको थियो ।

यस्तै, विदेशी स्वामित्वको अर्काे कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी पनि विगत लामो समयदेखि डीसीईओ पद रिक्त रहेको छ ।
लघु बीमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफले स्थापनका कालदेखि नै डीसीईओ पद सृजना गरेका छैनन् । यी दुवै कम्पनीले गत वर्षदेखि कारोबार सुरु गरेका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्समा विगत २ महिनादेखि डीसीईओ पद रिक्त रहेको छ । कम्पनीको तत्कालीन डीसीईओ पवनकुमार खड्का आईएमई लाइफको सीईओ बनेपछि कम्पनीमा डीसीईओ पद रिक्त भएको छ । भलै कम्पनीले डीसीईओ नियुक्त गर्ने समय एक महिना बाँकी नै छ ।

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले प्राधिकरणले जारी गरेको निर्देशिका सबै कम्पनीहरूले पालना गरेर डीसीईओ नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे । डीसीईओ पद भविष्यमा कुन मान्छेले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पोस्ट लिन सक्छ भनेर सृजना गरिएकाले यो सबै कम्पनीले डीसीईओ पदपूर्ति गर्नेुपर्ने उनको धारणा छ । यसले कम्पनीलाई मजबुद गराउने उनको भनाइ छ ।

उनले भने, ‘कतिपय कम्पनीले डीसीईओ पद सृजना नगरे पनि कर्मचारीको दोस्रो वरीयताको पद सृजना भने गर्नै पर्दछ ।’

प्राधिकरण भन्छ- ‘कारबाही गर्छौं

प्राधिकरणका निर्देशक कमल रेग्मीले तोकिएको समयभित्र डीसीईओ पदपूर्ति नगर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् । कानुन तथा नियमन महाशाखाका प्रमुख समेत रहेका रेग्मीले विगतमा पनि सचेत गराएको उल्लख गर्दै ३ महिनाभन्दा धेरै अवधि डीसीईओ पद रिक्त रहेका कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए ।

‘हामीले केहि महिनाअघि पनि कम्पनीहरूलाई डीसीईओ नियुक्त गर्नु भनेर पत्र पठाएका थियौं,’ उनले भने, ‘कम्पनीहरूले अटेर गरेको देखियो । अब हामी कारबाही गछौं ।’

के कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कानुनअनुसार कारबाही हुन्छ । हामी फेरि पत्र काट्छौं, स्पष्टीकरण लिन्छौं अनि कानुन बमोजिम कारबाही गछौं ।’

Share News