काभ्रेपलाञ्चोकमा दोस्रो किस्ता वितरण शुरु, पीडितले एक लाख ५० हजार रुपैयाँ पाउने

<p>बनेपा। काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण शुक्रबारदेखि शुरु भएको छ । प्रथम किस्ता वितरण भएको जिल्लाको रविओपी गाविसबाट आज काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले रविओपी गाविस–४ का होमनाथ कोइरालासहित करिब १० जनालाई दोस्रो किस्ताबापतको अनुदान सम्झौता हस्तान्तरण गरेका छन्। सो सम्झौतापछि उनीहरुले एक लाख ५० हजार रुपैयाँ पाउने छन् । सो अवसरमा बोल्दै [&hellip;]</p>

बनेपा। काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण शुक्रबारदेखि शुरु भएको छ । प्रथम किस्ता वितरण भएको जिल्लाको रविओपी गाविसबाट आज काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले रविओपी गाविस–४ का होमनाथ कोइरालासहित करिब १० जनालाई दोस्रो किस्ताबापतको अनुदान सम्झौता हस्तान्तरण गरेका छन्। सो सम्झौतापछि उनीहरुले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

सो अवसरमा बोल्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले सरकारको राजस्व कसैले पनि दुरुपयोग गर्न नहुनेमा जोड दिँदै पुनःनिर्माणका लागि सरकारको उपस्थिति मात्रै भएको बताए । उनले भने- “वास्तविक भूकम्पपीडितको लाभग्राहीमा नाम छुटेको छ, भने पनि ढिलोचाँडो पाउनुहुन्छ ”।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले पुनःनिर्माण भएका घर भूकम्पप्रतिरोधी हुनुपर्ने उल्लेख गर्दै जिल्लामा दोस्रो किस्ताबापतको रकम अब धमाधम वितरण हुने बताए । उनले अनुदान रकम वितरणमा अदालती प्रक्रिया विस्थापन गरेर नयाँ प्रक्रिया सुरु हुने जानकारी दिँदै कतिपय स्थानबाट अनुदानको पैसा फिर्ता आउन लागेको बताए। सो गाविसमा ९७० जना भूकम्पपीडिको नाम लाभग्राही सूचीमा प्रकाशन भएको छ । तीमध्ये ९३० जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाएका छन् भने घर निर्मााणका लागि एक सय ३० जनाले आवेदन दिएका छन् ।

दोस्रो किस्ताको लागि ४० जनाले मात्रै आवेदन दिएको बताइएको छ । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि ९९ करोड ५८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले ६ हजार ६३९ जनाले मात्र रकम पाउँछन् । जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ पाएका छन् । रासस

Share News