
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मोटर बीमाबाट साढे ६ अर्ब बढी रुपैयाँ बीमाशुल्क संकलन भएको छ । चालु आवको पौष मसान्तसम्म ७ लाख ८४ हजार ४४४ वटा सवारीसाधनको बीमा हुँदा ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो ।
यो अवधिमा निर्जीवन बीमाबाट २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
बीमाशुल्क संकलनका आधारमा कुल निर्जीवन बीमाको ३१.२० प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको हो । पोलिसी बिक्रीका आधारमा भने मोटरको हिस्सा ५० प्रतिशत बढी छ । निर्जीवन बीमातर्फ १५ लाख ५७ हजार ७९१ वटा पोलिसी बिक्री हुँदा ७ लाख ८४ हजार ४४४ वटा पोलिसी मोटर बीमाको रहेको छ ।
सम्पत्ति बीमाबाट ५ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । जुन कुल निर्जीवन बीमाको २५.७६ प्रतिशत हो । यसैगरी, इन्जिनियरिङ तथा ठेक्का पोर्टफोलियोअन्तर्गत ३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
इन्जिनियरिङ तथा ठेक्काको बीमाले कुल निर्जीवनको १४.४५ प्रतिशत हिस्सा ओगट्दा विविध बीमाले १२ प्रतिशत हिस्सा ओगटेको प्राधिकरणले जनाएकाे छ ।
सामूद्रिक तर्फको बीमाले ५.७६ प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लो छ महिनामा यस पोर्टफोलियोअन्तर्गत १ अर्ब २२ करोड रुपैयाँको बीमा भएको छ । हवाई बीमाले ४.७६ प्रतिशत हिस्सा ओगट्दा कृषि बीमाले ४ प्रतिशत र लघु बीमाले २ प्रतिशत हिस्सा ओगटेको छ ।
हवाई बीमाबाट १ अर्ब १ करोड ५३ लाख, कृषिबाट ८६ करोड ५० लाख र लघु बीमाबाट ४३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्रधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।