जनताको जीउको सुरक्षामा अब्बल नगर, ‘मेयर जनता स्वास्थ्य कार्यक्रम’ को प्रभाव बढ्दै

<p>काठमाडौं । &#8216;म स्वस्थ छु, मलाई केही भएको छैन, किन स्वास्थ्य जाँच गर्ने ?&#8217; भन्ने धेरै जनाको मानसिकता छ । अझ कति जना त चिकित्सककहाँ गएर जाँच गराउँदा अनावश्यक रोग देखाइदिन्छ भनेर जानै नखोज्ने प्रवृत्तिका हुन्छन् । हाम्रो आफ्नै ‘ओभर कन्फिडेन्ट’ को कारणले पछि गएर ठूलो रोगको शिकार हुनुपर्छ भन्ने हेक्कासमेत हामीले राखेका हुँदैनौं । [&hellip;]</p>

काठमाडौं । ‘म स्वस्थ छु, मलाई केही भएको छैन, किन स्वास्थ्य जाँच गर्ने ?’ भन्ने धेरै जनाको मानसिकता छ । अझ कति जना त चिकित्सककहाँ गएर जाँच गराउँदा अनावश्यक रोग देखाइदिन्छ भनेर जानै नखोज्ने प्रवृत्तिका हुन्छन् । हाम्रो आफ्नै ‘ओभर कन्फिडेन्ट’ को कारणले पछि गएर ठूलो रोगको शिकार हुनुपर्छ भन्ने हेक्कासमेत हामीले राखेका हुँदैनौं ।

पछिल्लो समय अस्पताल तथा स्वास्थ्य संस्थामा गएर हेर्ने हो भने मृगौला फेल, मुटुरोग, क्यान्सरजस्ता जटिल रोगका बिरामीको संख्या बढ्दो क्रममा छ । यी र यस्ता रोगको समयमै पहिचान हुन सके थोरै खर्चमा सही उपचार गर्न सकिन्छ । पछि ढिला भएर थाहा पाउँदा खर्चिलो हुनुका साथै बिरामीलाई बचाउन समेत गाह्रो पर्न जान्छ ।

यस्तै खालका समस्यालाई मध्यनजर गरी महालक्ष्मी नगरपालिकाले ‘मेयर जनता स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ । गत वर्षको नगरसभाबाट यो कार्यक्रम सञ्चालन गर्ने भएर पारित भएपनि कार्यविधि नबन्दा यो कार्यक्रम सुरु भएको थिएन । वैशाखमा कार्यविधि बनेपछि मात्रै यो कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाअनुसार यो कार्यक्रम पुस १९ गते वडा नं ५ बाट शुभारम्भ भएको थियो । हाल ७ वटा वडामा यो कार्यक्रम सुरु भइसकेको छ । अब बाँकी ३ वडामा पनि छिट्टै सुरु हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले बाहिरी रूपमा स्वस्थ र बलियो देखिने व्यक्तिलाई पनि शरीरभित्र केही न केही रोगले सताइरहन सक्ने भएको हुँदा नागरिकले समयमै स्वास्थ्य चेकजाँच गरुन् र स्वास्थ्यप्रति सचेत रहुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरेको बताए ।

नसर्ने सुषुप्त रूपमा लुकेर रहेका रोगको पहिचान नभएका ३० वर्षभन्दा माथिका नागरिकलाई यो कार्यक्रमले लक्षित वर्गको रूपमा लिएको उनको भनाइ छ ।

लामो समयदेखि नियमति औषधी सेवन गरिरहने नागरिकले नियमति स्वास्थ्य जाँच गरेर आफ्नो स्वास्थसम्बन्धी जानकारी लिएपनि अन्य नागरिकले भने आफू स्वस्थ छु भन्ने आत्मविश्वासले वेवास्ता गर्ने गरेको देखिएको अधिकारी बताउँछन् ।

उनले भने, ‘जसले नियमित आफ्नो स्वास्थ्यको चेकजाँच परीक्षण गर्नुभएको छैन, जसले आफू स्वस्थ छु भन्नुहुन्छ, उहाँहरूको शरीरमा पनि रोग हुन सक्छ । त्यस्तो नागरिकले आफ्नो स्वास्थ्य समयमै परीक्षण गरेर स्वस्थ शरीर बाँच्ने र स्वस्थ शरीर बाँचेका नागरिकको स्वस्थ सहरका रूपमा महालक्ष्मीलाई रूपान्तरण गर्नुपर्छ भनेर यो कार्यक्रमको सुरुवात गरिएको हो ।’

स्वास्थ्य जाँच गर्न आइपुगेका नागरिकमा केही न केही औषधी खानुपर्ने, थप स्वास्थ्य परीक्षण गर्नुपर्ने, खानपान जीवनशैलीमा ध्यान दिनुपर्ने देखिएको अधिकारीले बताए ।

यो कार्यक्रमको प्रभावकारिता बढ्दै जानुका साथै स्वास्थ्य केन्द्रमा चेकजाँच गराउन आउने नागरिक बढ्दो क्रममा रहेको उनले बताए । ‘यो कार्यक्रम सुरु भएपछि थुप्रै नागरिक स्वास्थ्य संस्थामा लामबद्ध लागेर बस्नुभएको छ,’ अधिकारीले भने, ‘कतिपय नगरपालिकाले बनाएको स्वास्थ्य संस्था त कतिपय नेपाल सरकारले स्थापना गरिएका स्वास्थ्य केन्द्रमा जाँच गर्ने नागरिकको उपस्थिति उत्साहजनक छ । यसले हाम्रो स्वस्थ नागरिक र स्वस्थ नगरपालिका बनाउने लक्ष्य पूरा हुने देखिएको छ ।’

अति आवश्यक कार्यक्रम

पाँच वर्षअघि बागमती प्रदेशले ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमको उद्देश्य पनि नसर्ने रोगको समयमै पहिचान, रोगथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण थियो । ३० वर्षभन्दा बढी उमेर समूहलाई लक्षित यो कार्यक्रमअन्तर्गत १६ किसिमका स्वास्थ्य परीक्षण हुने भनेर सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमले केही हदसम्म सकारात्मक सन्देश दिएपनि प्रभावकारी भने हुन सकेन ।

गत वर्ष भरतपुर महानगरपालिकाले ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गर्‍यो । यो कार्यक्रमको उद्देश्य पनि नसर्ने रोगको समयमै पहिचान गरी त्यसलाई न्यूनीकरण गर्ने नै हो । यस कार्यक्रममा जेष्ठ नागरिक, अपांगता, अशक्तता भएका नगरबासीलाई समेटेको छ ।

स्थानीय सरकार प्रदेश सरकार, पालिका स्तरमा यो कार्यक्रमको आवश्यकता धेरै देखिन्छ । आवश्यकताअनुसार स्थानीय तहमा यस्ता कार्यक्रम सुरु भएपनि त्यसले निरन्तरता भने पाउन सकेको देखिँदैन ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रमले सबै तहमा समेट्न नसकेको पछिल्लो समय नगरबासीले पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गर्ने गरेको अधिकारी बताउँछन् ।

७ वडामा सञ्चालन

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवाली नगरपालिकामा यो कार्यक्रमको आवश्यकता महसुस गरेर नै सञ्चालनमा ल्याएको सुनाउँछन् । उनका अनुसार प्रत्येक वडामा महिनाको एक दिन नि:शुल्क रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ ।

यो कार्यक्रम नगरपालिकाको वडा नं १, २, ३, ५, ८, ९ मा सुरु भइसकेको छ । अब बाँकी वडामा पनि छिट्टै सुरु हुने उनले बताए । यो स्वास्थ्य कार्यक्रमअन्तर्गत ३० वर्षभन्दा बढी उमेरसमूहका नागरिकले पिसाबबमा प्रोटिन, रगतमा ग्लुकोज, पिसाबमै सुगरको लेभल, ब्लड प्रेसरको लेभललगायत विभिन्न टेस्ट नि:शुल्क रूपमा गर्न सक्छन् । यी जाँचबाट समस्या देखिएमा चिकित्सकबाट थप उपचारको आवश्यक सल्लाह दिने काम हुने ज्ञवालीले बताए ।

कार्यक्रमको सुरुवाती चरण भएकाले धेरै नगरबासीले अहिले पनि यो कार्यक्रम थाहा नपाएको हुनसक्ने भएकाले यसलाई थप प्रचारप्रसार गर्ने तयारीमा नगरपालिका रहेको ज्ञवाली बताउँछन् । उनका अनुसार कार्यक्रम सुरु गर्दा नगर प्रमुखको अध्यक्ष्यतामा गठित स्वास्थ्य व्यवस्थापन समितिमार्फत सरोकारवालाहरूलाई कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपश्चात नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई बोलाएर कार्यक्रम सञ्चालन गर्‍यो ।

त्यस्तै, कार्यक्रमलाई नगरबासीसामु पुर्‍याउन नगरपालिकाले महिला स्वास्थ्य सेविकालाई खटाएको छ । महिला स्वास्थ्य सेविकाले प्रत्येक नगरबासीको घरमा गएर यसबारे जानकारी दिने गरेको ज्ञवालीले बताए । त्यस्तै, वडाअध्यक्ष, जनप्रतिनिधिले पनि यस कार्यक्रमको प्रचारप्रसार गरेर सेवा लिन आउने वातावारण बनाइरहेको उनको भनाइ छ ।

‘अहिले आफ्नै नेटवर्कबाट यो कार्यक्रमको प्रचार-प्रसार भइरहेको छ, महिला स्वास्थ्य सेवकसेविकाबाट घरघरमा सन्देश जाने गरेर स्वास्थ्य संस्थामा बोलाउने काम भइरहेको छ,’ उनले भने ।

पालिकास्तरमा यस्ता कार्यक्रम अतिआवश्यक औंल्याउँदै ज्ञवालीले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैको साथको अपेक्षा गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुनाए । यो कार्यक्रमपछि नगरबासीले आफ्नै घरदैलोको स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा पाएसँगै उनीहरूबाट सकारात्मक प्रतिक्रियाहरू आउने गरेको उनले बताए ।

ज्ञवालीका अनुसार यस कार्यक्रमका लागि महानगरले ८ लाख रुपैयाँ बजेट छुट्याएको छ । तर यो बजेट पर्याप्त नभएको उनले बताए । ‘नगरपालिकाले छुट्याएको बजेटले केही रकम खरिद गर्‍याैं, केही मौजुता सामग्री प्रयोगमा ल्यायौं । कार्यक्रम सुरु भएदेखि नै यसको प्रभावकाारिता बढ्दै गएको हुँदा यो बजेट पर्याप्त नहुने हामीले महसुस गरेका छौं, यसलाई बढाउनुपर्ने देखिन्छ,’ उनले भने ।

नगरपालिकाद्वारा सञ्चालित अन्य स्वास्थ्य कार्यक्रम

महालक्ष्मी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । पहिले घर-घरमै गएर यो सेवा दिने गरेको भएपनि पछिल्लो समय भने कुनै एक ठाउँ तोकेर बाआमालाई भेला गराएर स्वास्थ्य कार्यक्रम गर्ने गरेको छ ।

जेष्ठ नागरिकहरूको सुगरको लेभल, ग्लुकोज ब्लड प्रेसरलगायत जाँच हुन्छ । ज्ञवालीका अनुसार जेष्ठ नागरिकलाई नगरपालिकासँग उपलब्ध रहेका औषधीसमेत बाँड्दै आइएको छ । यो कार्यक्रम १० वटै वडामा सञ्चालन भइरहेको छ । नगरपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नगरभित्रका कोही पनि बालबालिका खोप लगाउनबाट नछुटुने भनेर स्वास्थ्य स्वं सेविकालाई घरघरमै गएर खोजेर खोप लगाउने गरेको छ । त्यसका साथै सरकारले अभियानकै रूपमा सञ्चालनमा ल्याएको एचपीपी खोप कार्यक्रमलाई नगरपालिकाले साथ दिँदै १० देखि १४ वर्षका किशोरीहरुलाई एचपिपी खोप कार्यक्रमको अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । खोप कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले वडाअध्यक्षहरुको अध्यक्षमा गठित खेप समन्वय समिति स्वास्थ्य सेविकाहरु परिचालन गरिसकेको छ ।

स्वास्थ्य सेविकाबाटमार्फत कुन-कुन स्कुलमा को जाने भनेर स्वास्थ्यकर्मी परिचालन गरिसकको ज्ञवालीले बताए । नगरपालिकाका अनुसार यही माघ २२ गतेदेखि स्कुल स्कुलमा गएर खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्कुल नजानेलाई पनि स्वास्थ्य संस्थामा खोप लगाउने कार्यक्रम पनि पूरा भएर तयार अवस्थामा छ ।

नगरपालिकाले सञ्चालन गरिरहेको अर्को स्वास्थ्य कार्यक्रम हो- ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम । गर्भवती महिलालाई लक्षित गरेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।अल्ट्रासाउण्डमार्फत् बच्चाको अवस्था के छ भनेर हेर्न सकिन्छ ।

यो कार्यक्रमको लागि नगरपालिकाले स्थानीय नर्सलाई तालिम दिने गरेको छ । यो कार्यक्रमअन्तर्गत महिनाको एक पटक तालिमप्राप्त नर्स स्वास्थ्य संस्थामा गएर गर्भवती महिलालाई नि:शुल्क सेवा दिने हो ।

नगरपालिकाले सुत्केरी महिलालक्षित ‘उपमेयरसँग सुत्केरी भेटघाट’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि कार्यविधि पनि बनिसकेको ज्ञवालीले जानकारी दिए । सुत्केरी महिलालाई थोरै भए पनि प्रोत्साहन होस् भनेर यो कार्यक्रम सुरु गर्न लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार अहिले नगरभित्र कति सुत्केरी महिला छन् त्यसको तथ्यांक स्वास्थ्य संस्थाबाट लिने काम भइरहेको छ । नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यायामशालासमेत सञ्चालनमा ल्याएको छ । हाल वडा ६ र ९ मा यो कार्यक्रम सञ्चालनमा छ ।

Share News