काठमाडौं । चालु आर्थिक वार्षको ६ महिनामा जीवन बीमा कम्पनीहरूले ८० अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पौष मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बढीको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
गत आवको सोही अवधिको तुलनामा जीवन बीमाको व्यापार ८.६९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पौष मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ७४ अर्ब २१ करोड ६ लाख रुपैयाँको व्यापार गरेका थिए ।
यो अवधिमा धेरै व्यापार वृद्धि गर्ने सूचिको अग्रस्थानमा सिटिजन लाइफ रहेको छ । सिटिजनले २३.५९ प्रतिशतले व्यपार वृद्धि गरेको छ । गत आवको पौष मसान्तसम्म कम्पनीले २ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँको व्यपार गरेको छ । व्यापार वृद्धिमा रिलायबल लाइफले सिटिजनलाई पछ्याइरहेको छ । रिलायबलको व्यपार २३.४१ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको पौष मसान्तसम्म रिलायबलले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यस्तै, १९.६७ प्रतिशतले व्यवसाय वृद्धि गरेको प्रभु महालक्ष्मी लाइफले पौष मसान्तसम्म २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिका कम्पनीले २ अर्ब २ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
यस्तै, सूर्यज्योति लाइफको व्यपार १८.२५ प्रतिशतले वृद्धि हुँदा आइएमई लाइफको १५.७२, सानिमा रिलायन्स लाइफको १३.४९, एशियन लाइफको १३.१३, सन नेपालको १२.५२, नेपाल लाइफको १२.१५ र नेशनल लाइफको व्यपार १२.१४ प्रतिशतले वृद्धि भएको छ ।
सबै कम्पनीको व्यापार वृद्धि हुँदा सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ४१.६८ प्रतिशतले वृद्धि भएको छ ।
धेरै व्यापार गर्ने कम्पनीमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको व्यापार गर्दा दोस्रो स्थानका लागि नेशनल लाइफ र एलआईसी नेपाल प्रतिस्पर्धामा छन् । नेशनलले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।