काठमाडौं । त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले सही ढंगबाट कानून बनाए कार्यान्वयन गरेको खण्डमा विश्वविद्यलाय सुधार हुन समय नलाग्ने बताए ।
उनीहरुले लाखौँ युवाहरुको भविष्य जोडिएको संस्थालाई भद्रगोल बनाउन नहुने सुझाव दिएका छन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी गरेको कुरालाई सही ढंगबाट कानून बनाएर नियमन गर्न जरुरी रहेको बताइन् ।
शिक्षाको मुहान भद्रगोल तरिकाबाट चल्नु नहुने बताइन् । समितिले आवश्यक सुधारका लागि सरकारलाई निर्देशन दिन जरुरी रहेको जानकारी दिइन् ।
‘त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी भयो भन्ने खालको जुन कुराहरु आइरहन्छ । वास्तवमा ठिक ढंगले नियम, कानून बनाएर, नियम कानूनलाई ठिक ढंगले कार्यान्वयन गरेपछि त ति संगठनहरु पनि जन्मिन आवश्यक हुँदैन थियो होला,’ उनले भनिन् ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले देशका लाखौँ युवाहरुको भविष्यसँग जोडिएको त्रिभूवन विश्वविद्यालयलाई सही तरिकाबाट सञ्चालन गर्न जरुरी रहेको बताइन् । विश्वविद्यालयको प्रत्यायोजित विधायन सन्तोषजनक नरहेको र यसो हुनुमा विश्वविद्यालय सञ्चालक समितिको गल्ती रहेको महशुस आफूले गरेको बताइन् ।
उनले भनिन्, ‘त्रिभूवन विश्वविद्यालय भनेको देशकै आशालाग्दो, भरोसालाग्दो युवाहरु विद्यार्थीको भविष्यको कुरा जोडिएको छ । यसमा हामी अभिभावकहरु पनि जोडिएका छौँ । अभिभावकहरुले पनि खाइ नखाइ छोराछोरी पढाइरहेको हुन्छ ।’
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ तत्काल पुनःलेखन गर्नुपर्ने बताए् । उनले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को पुनःलेखनका लागि सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए ।
उनले भने, ‘हामीले यो समितिबाट र राष्ट्रिय सभाबाट तुरुन्त यो ऐनलाई परिमार्जन गर्ने, संशोधन मात्रै होइन, पुनःलेखन गर्ने प्रक्रियामा अघि बढाउन नेपाल सरकारलाई सुझाव दिनुपर्छ । नेपाल सरकारलाई निर्देशन दिनुपर्ने देखिन्छ ।’
समितिको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभूवन विश्वविद्यालय नेपालको शिक्षाको मेरुदण्ड भएको बताए । प्राज्ञिक व्यक्तिहरु भएको ठाउँमा प्रत्यायोजित अधिकार हनन हुन नहुने जानकारी दिए ।
उनले भने, ‘त्रिभूवन विश्वविद्यालय हाम्रो शिक्षाको मेरुदण्ड पनि हो । त्यहाँ सबैभन्दा धेरै प्राज्ञिक व्यक्तित्वहरु हुनुहुन्छ । प्रत्यायोजित अधिकार ऐनअनुसार कहाँ हनन भएको छ । कहाँ कमजोर भएको छ, नजानेर दुविधा भएको छ भन्नेकुरा औंल्याउनु पर्छ ।’
सभापति शर्माले प्रत्यायोजित अधिकारहरु हनन भएका ठाउँ पहिचान गरी सच्याउन जरुरी रहेको जानकारी दिए ।