
आजभोलि महिला र पुरुष दुबै काममा व्यस्त हुन्छन् । दिनभरि काम गर्दा भोक लागेको बेला खाजा बनाउन समय हुँदैन । अझ कहिलेकाहीं त बच्चाहरूलाई खाजा बनाइदिनेसमेत समय हुँदैन । यस्तो अवस्थामा सबैले रोज्ने भनेका बजारमा सजिलै पाइने प्याकेज गरिएका र प्रशोधित खानाहरू हुन् । हामी आफू र बच्चाको लागि यस्ता विकल्पहरू रोज्न पुग्छौं । यदि तपाईं कार्यालयमा काम गर्नुहुन्छ र पटक-पटक भोक लाग्छ भने आफ्नो झोलामा यी चार खानेकुरा बोक्न सक्नुहुन्छ । जसले तपाईंको भोक मेट्ने मात्र होइन, स्वस्थ पनि राख्छ ।
मिक्स सिड्स

मिक्स सिड्स स्न्याक्सका लागि एक उत्कृष्ट खानेकुरा हो । सिड्सलाई हल्का रोस्ट गरेर कुनै भाँडामा स्टोर गर्न सकिन्छ । आफू कार्यालयमा जाँदा सानो डब्बामा प्याक गरेर बोक्न पनि सकिन्छ । रोष्टेड मिक्स सिड्स प्रोटिन र फाइबरको राम्रो स्रोत हो, जसले लामो समयसम्म भोक लाग्न दिँदैन । यो काम गर्दै पनि खान सकिन्छ । यो तौल घटाउन पनि सहयोग साबित हुन्छ। मिक्स सिड्समा धेरै महत्त्वपूर्ण भिटामिन र खनिज तत्त्वहरू पाइन्छन् । जसले कोलेस्ट्रोल स्तरलाई सामान्य राख्न मद्दत गर्छ । यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । त्यसैले मिक्स सिड्स मधुमेह र हृदय रोगीहरूका लागि एक स्वस्थ स्न्याक्स विकल्प साबित हुन सक्छ । यसले पाचन प्रक्रियालाई पनि सुधार गर्न मद्दत गर्छ भने यसमा रहेका एन्टीअक्सिडेन्टहरूले शरीरलाई सुरक्षा प्रदान गर्छन् ।
मखाना

मखानालाई सधैं एक स्वस्थ र पोषणयुक्त स्न्याक्सको रूपमा प्रयोग गरिँदै आएको छ । यसलाई घ्यू र नुनमा रोस्ट गरेर पौष्टिक र स्वादिष्ट स्न्याक्सको रूपमा आफ्नो नियमित आहारमा समावेश गर्न सकिन्छ । मखाना फाइबर र प्रोटिनको उत्कृष्ट स्रोत हो । साथै यसमा क्यालोरी अत्यन्त कम हुन्छ, त्यसैले तौल घटाउन प्रयासरत व्यक्तिहरूले यसलाई स्वस्थ स्न्याक्सको रूपमा आनन्द लिन सक्छन् । मखानाको ग्लाइसिमिक इन्डेक्स धेरै कम हुन्छ । यसले रगतमा चिनीलाई बिस्तारै छोड्ने गर्छ भने मधुमेहका बिरामीहरूले पनि यसलाई आफ्नो आहारमा ढुक्कसँग समावेश गर्न सक्छन् ।
मखाना म्याग्नेसियम र पोटासियमको उत्कृष्ट स्रोत पनि हो । जुन उच्च रक्तचापका बिरामीहरूको लागि अत्यन्त आवश्यक हुन्छ । यदि कसैलाई हृदयरोगसम्बन्धी समस्या छ भने उनीहरूले यसलाई आफ्नो नियमित आहारको हिस्सा बनाउन सक्छन् । मखानाको सेवन बच्चाहरूका लागि पनि अत्यन्त फाइदाजनक छ । यसले तत्काल ऊर्जा प्रदान गर्छ भने महिलाहरूको छालालाई स्वस्थ र चमकदार बनाउन पनि सहयोग गर्छ ।
फलफूल

फलफूलमा प्रशस्त मात्रामा पोषकतत्व पाइन्छ । यसमा फाइबर र धेरै महत्त्वपूर्ण भिटामिन भरपुर हुन्छ । यी पोषकतत्वहरूले व्यक्तिलाई लामो समयसम्म तृप्त राख्न मद्दत गर्छ । तौल घटाउन प्रयासरत व्यक्तिहरूले पनि यसलाई आफ्नो आहारमा समावेश गर्न सक्छन् । यसमा रहेका भिटामिन र खनिजहरूले समग्र स्वास्थ्यलाई प्रोत्साहित गर्छन्, जुन सबैका लागि लाभदायक हुन्छ । स्ट्रबेरी, ब्लुबेरीलगायतका अमिला फलफूलमा भिटामिन सी र एन्टीअक्सिडेन्ट भरपूर पाइन्छ । फलफूलको नियमित सेवनले महिलाको छालामा प्राकृतिक चमक कायम रहन्छ । यसले विभिन्न जोखिम पनि बहन गर्छ ।
खजुर

धेरै पटक हामी तनावमा हुँदा वा कुनै समस्याले सताउँदा मीठो खाने इच्छा हुन्छ । यस्तो अवस्थामा प्रायः मानिसहरू अस्वस्थ विकल्प रोज्छन् । तर यदि तपाईंले खजुर साथमा राख्नुभयो भने मीठोको चाहना पूरा गर्न यसभन्दा राम्रो विकल्प केही हुन सक्दैन । खजुर स्वादिष्ट र अत्यन्त पौष्टिक हुन्छ । खजुरमा एन्टीअक्सिडेन्टसहित फाइबर, भिटामिन बी सिक्स, फ्लाभोनाइड्स, भिटामिन सी, भिटामिन के पोषकतत्व पाइन्छ । खजुरको नियमित सेवनले कोलेस्ट्रोल स्तरलाई सामान्य राख्छ भने हृदयरोगसम्बन्धी समस्या हुने जोखिम कम गर्छ । पाचन प्रक्रियाका लागि पनि यो लाभदायक हुन्छ । यदि पाचनसम्बन्धी समस्या छ भने पनि खजुर खान फाइदाजनक हुन्छ ।