
काठमाडौं । ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक अस्पतालले ९ शैयाको अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले लेभल वान, टुमा सेवा दिरहेको अस्पतालले लेभल थ्री सुरु गरेको हो । उक्त आइसीयूको सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।
आईसीयूको उद्घाटन गर्दै मन्त्री पौडेलले १० प्रतिशत नि:शुल्क बेड भनिएको कुरालाई लागू गर्न आग्रह गरे । ‘सामान्य नागरिक जसले ठूला अस्पतालमा सेवा पाउन सक्ने सम्भावना देख्दैनन् यस्ता नागरिकलाई यो अस्पतालले सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘१० प्रतिशत खोई भनेर प्रश्न सोध्न नपारिदिनुस्, यो कुरा आफै लागू गराइदिनुहोस् । अझ सक्यो भने त क कसको उपचार गरियो, फोटो र नामसमेत राखिदिनुहोस् ता कि जसले शुल्क तिर्न सक्ने भएर पनि गरिबको नाममा उपचार लिएको हुन्छ त्यो मान्छे चिनिन सकोस् ।’
ह्याम्स अस्पतालले भेप नियन्त्रण गर्ने बारेमा गरेको एउटा कार्यक्रमपछि सरकारले नियमन गर्ने व्यवस्था गरेको उदाहरण दिँदै मन्त्री पौडेलले निजी अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्ने काम पनि गरेको र यस्ता काम अझ बढ्नुपर्ने बताए ।

ह्याम्स अस्पताल तथा नागरिक अस्पतालका अध्यक्ष रामशरण भण्डारीले सरकारले नेपालका अस्पताललाई ग्रेडिङ गरिदिनुपर्ने बताए । नागरिकको सेवाका लागि धेरै थरीका अस्पताल रहेको बताउँदै उनले कुन अस्पतालमा कुन प्रविधि र कुन स्तरको जनशक्ति छ, त्यो स्वास्थ्य सेवा लिन यो अनुसारको नीति बनाएर ग्रेडिङ गरिदिनुपर्ने आवश्यकता औंल्याए ।
‘यसो गरिदिए सेवा लिन जाने बिरामी र तिनका आफन्त कुन अस्पताल जाँदै छु भन्ने बुझेर सेवा लिन जाने थिए,’ उनी भन्छन्, ‘अब बेडका आधारमा अस्पताललाई चिनेर चिनाएर हुँदैन, प्रविधि र जनशक्ति र भौतिक संरचना भएको अस्पताललाई के ग्रेडिङ गर्ने, यो सुविधा नभएको अस्पताललाई के ग्रेडिङ गर्ने भन्ने विषयमा छलफल गरी त्यही अनुसारको शुल्क पनि मन्त्रालयले तोकिदिए हुन्थ्यो ।’
कुन सेवा दिँदा कति शुल्क लिने भन्नेबारे स्वास्थ्य मन्त्रालयले गाइड गरी नीति बनाइदिए सजिलो हुने बताए । उनले मन्त्रालयले बनाएको नीति नियमलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए ।
अध्यक्ष भण्डारीले ह्याम्स अस्पताल निजी अस्पतालबाट आईपीओका लागि नेपालको धितोपत्र बोर्डमा पहिलो निवेदन दिने अस्पताल भएको बताए ।
‘कुनै पनि संस्था नीतिनियम भित्र बस्ने बनाउने हो भने पब्लिक लिमिटेड कम्पनीलाई पब्लिकको निगरानीमा राखेर चल्न बाध्य हुन्छ,’ उनी भन्छन्, ‘अर्को कुरा राज्यलाई ट्याक्स तिर्ने कुरामा आइपीओमा गएको कम्पनी जसले पब्लिकको सेयरमा चलाएको छ, यसले राज्यलाई तिर्ने ट्याक्समा कतै पनि बदमासी गर्न सक्दैन । राज्यको ट्याक्समा पनि ठूलो सहयोग गर्छ ।’

कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर बासीले उपचारका लागि काठमाडौं ललितपुर धाउनुपर्ने अवस्था नरहेको बताए ।
भक्तपुरमा रहेको कोरियामैत्री अस्पतालले बिरामी थेग्न नसकेको अवस्थामा अत्याधुनिक सुविधासहित नागरिक अस्पताल सञ्चालनमा आउँदा नागरिकलाई सहज हुने बताए ।
‘अहिले जसरी हाम्रो पालिकाभित्र अस्पताल सञ्चालनमा आइरहेका छन्, यसले नगरवासीलाई मात्र हौइन, पूर्व-पश्चिमबाट आउने सबै नागरिकले सेवा लिन पाउँछन्,’ उनी भन्छन्,‘ हामीले गर्ने प्रयास हामीले गरिरहेका छौं भने निजी क्षेत्रलेआफ्नो ठाउँबाट सेवा दिने प्रयास गरेको छ । यो खुसीको कुरा हो ।’