चौतर्फी धाउँदा निको नभएपछि अन्तिम गन्तव्य ‘अपाङ्ग बाल अस्पताल’, जसले पाउँछन् निःशुल्क सेवा

<p>काठमाडौं । उदयपुरका तोकबहादुर विष्ट विभिन्न अस्पताल धाउन थालेको ५ वर्ष भयो । अहिले पनि उनको बास अस्पतालमै छ । १० वर्षका छोराको खुट्टाको हड्डीमा समस्या भएपछि उनी उपचारका लागि पूर्वका अस्पताल हुँदै काठमाडौंका विभिन्न अस्पतालमा पुगे । तर, छोराको खुट्टा अहिलेसम्म निको हुन सकेकाे छैन । अहिले उनी बनेपामा रहेको अपाङ्ग बालअस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी)मा छोराको [&hellip;]</p>

काठमाडौं । उदयपुरका तोकबहादुर विष्ट विभिन्न अस्पताल धाउन थालेको ५ वर्ष भयो । अहिले पनि उनको बास अस्पतालमै छ । १० वर्षका छोराको खुट्टाको हड्डीमा समस्या भएपछि उनी उपचारका लागि पूर्वका अस्पताल हुँदै काठमाडौंका विभिन्न अस्पतालमा पुगे । तर, छोराको खुट्टा अहिलेसम्म निको हुन सकेकाे छैन । अहिले उनी बनेपामा रहेको अपाङ्ग बालअस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी)मा छोराको उपचार गराइरहेका छन् । छोरालाई एक्कासि के भयो, कसरी यो अवस्था भयो भन्ने उनलाई अझै थाहा छैन।

आजभन्दा ४ वर्ष अगाडि छोरा ६ वर्षका थिए । एक दिन अचानक खुट्टा दुख्यो, टेक्न मिल्दैन भन्दै रुन थाले । सधैं हिँड्दै, उफ्रिँदै गर्ने छोराले एक्कासि खुट्टा टेक्न सक्दैन भन्दै रुन थालेपछि तोकबहादुरलाई के भयो भन्ने पीर लाग्यो ।

एक/दुई दिन उनले ठीक होला नि भन्दै घरमा राखे तर, ठीक भएन ।  ‘कतै लडेर हो कि अथवा कसैले केही लडाएर हो, के भयो भन्ने नै थाहा भएन, एक्कासि छोरो रुन थालेपछी अस्पताल लिएँ,’ विकासन्यूजसँग कुरा गर्दै उनले भने । 

छोराको खुट्टामा समस्या देखिएपछि उनले सिराहाको मिर्चैया अस्पताल लगे । त्यहाँ पनि निको भएन । त्यसपछि उनले धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिए । त्यहाँ लिएपछि  थाहा भयो खुट्टाको हड्डी भाँचिएको रहेछ ।

धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप उपचारका लागि काठमाडौं लैजान सल्लाह दियो । त्यसपछि उनी छोरा बोकेर काठमाडौं आए । सुरुमा उनले वीर अस्पतालमा छोरालाई देखाए । अप्रेसनका लागि त्यहाँ समयमा पालो पाउन सकेनन् ।  त्यसपछि उनी महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल  पुगे । त्यहाँ पनि अवस्था उस्तै थियो । तर, उनले दिनहुँ अस्पताल धाएर अप्रेसनको पालो पाए ।  

त्रिवि शिक्षण अस्पतालमा अप्रेसन गरेपछि चिकित्सकले अब निको हुने भन्दै घर जान भने । चिकित्सकले भनेजस्तै डेढ वर्ष जति छोराको खुट्टा निको भयो । फेरि छोरा हिँड्न थालेपछि उनी ढुक्क भए । तर उनको खुसी धेरै दिन टिकेन ।  केही समयपछि फेरि छोराले खुट्टा दुख्न थाल्यो भन्दै रुन थाले ।

त्यतिबेलासम्म टोपबहादुरसँग भएको पैसा सकिसकेको थियो । टिचिङ अस्पतालमा अप्रेसन गर्न पनि उनलाई आफन्तहरूले सहयोग गरेका थिए । त्यहाँ करिब अढाई लाख खर्च भएको थियो । मिर्चैया, धरान, वीर अस्पताल जाँदा कति पैसा खर्च भयो, हिसाबकिताब छैन । भएको पैसा सकियो छोराको खुट्टा निको भएन अब के गर्ने भन्दै उनी केही दिन घरमै बसे । घरमा बस्दा मन पोल्न थाल्यो । 

‘अस्पताल जान पैसा थिएन, घरमा बस्न सकिनँ, छोराको यस्ताे अवस्था, हामीलाई त खाना खान, काम गर्न नै मन लागेन,’ तोकबहादुरले सुनाए । आफन्तहरूले पनि सहयोग गरिसकेकाले माग्ने कतै ठाउँ थिएन ।  उनले ललितपुरमा रहेको बी एण्ड बी अस्पताल  राम्रो अस्पताल रहेको कुरा थाहा पाए । त्यसपछि फेरि छोरा बोकेर उनी काठमाडौं आए ।

उनी घरबाट आउँदा खल्तीमा २० हजारमात्र पैसा थियो । उनी बी एण्ड बी अस्पताल गए । त्यहाँ गएर उनले आफ्नो समस्या अस्पतालका कर्मचारीलाई सुनाए । एक जना चिकित्सकले विपन्न परिवारको बालबालिकाका लागि काभ्रेको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा रोटरी क्लबले नि:शुल्क उपचार गराइरहेको बताए । त्यसपछि उनी छोरा काभ्रेको बनेपा पुगे । जहाँ अहिले उनका छोराको फेरि उपचार भइरहेको छ । 

‘दुःखमा भौतारिरहेका बेला मैले सहयोग पाएको छु, अब निको हुन्छु कि भन्ने आशामा छु,’ उनी भन्छन्, ‘आर्थिक अभावले घर लैजान लागेको छोरालाई रोटरी क्लबको सहयोगमा उपचार गराउन पाउँदा मेरो लागि भगवान भेटिए जस्तो भएको छ, अब निको हुने नहुने भगवान भरोसा ।’

गोर्खाका विज्ञान अधिकारी अहिले १७ वर्षका भए । उनी ८ वर्ष हुँदादेखि नै उनको पनि अस्पतालकै बास हुन थाल्यो । कहिले काठमाडौं, कहिले चितवन । उनी अहिलेससम्म कति पटक अस्पतालमा पुगे, उनलाई नै थाहा छैन । पैसा सकियो तर, निको हुने अवस्था नदेखिएपछि उनलाई घरमै राखियो ।

हिँड्न नसके पनि उनी एउटा खुट्टाको भरले स्कुल पुग्थे । कहिले परिवारको सहयोगमा, कहिले साथीभाइको सहयोगमा त कहिले आफै पनि स्कुल पुग्थे । अहिले उनी कक्षा ९ मा अध्ययनरत छन् ।  पैसा नहुँदा र धेरै अस्पताल पुर्‍याउँदा पनि निको नहुँदा विज्ञान घरमै बसे ।

गत भदौमा गोर्खाको पालुङटारमा ‘अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र’ ले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्कुलमा शिविर भइरहेको बेला अस्पतालका एक जना कर्मचारीले उनलाई देखे । उनीसँग कुराकानी गरे । उनले धेरै कुरा भन्न जानेन् तर, धेरै अस्पताल जाँदा पनि सञ्चो नभएपछि घरमै बसेको बताए । त्यहीबेला उनकी आमालाई भेटेर ती कर्मचारीले बनेपामा अस्पतालमा ल्याउन सल्लाह दिए । त्यसपछि उनी आमासँग अस्पताल आए । अहिले उनी आमासँगै  १ महिनादेखि अस्पतालमै छन् ।

विज्ञानलाई के कारण अस्पतालको बेडमा बस्नु पर्‍यो भन्नेबारे भने धमिलो सम्झना छ । उनी ट्याक्टरबाट झरेर यस्तो अवस्थामा पुगेका हुन् । ‘धेरै थाहा छैन, टयाक्टरबाट खसेर यस्तो भएको हो भन्ने अलि सम्झना छ, ‘ उनी भन्छन्, ‘अब पहिले जस्तो सपांग त हुन नसकुँला तर निको भएर घरमै बस्न पाए पनि हुन्थ्यो, कहिले कता कहिले कता अस्पताल बस्दा बस्दै थाकें ।’

उनलाई अस्पताल बस्दा कति खर्च भयो भन्ने थाहा छैन । तर चितवन र काठमाडौंका विभिन्न अस्पताल पुग्दा लाखौं खर्च भइसकेको छ । 

तोक, विज्ञानजस्ता जो आर्थिक अभावका कारण अपांगता भएर पनि उपचार पाउन सकिरहेका छैनन् । यस्ता व्यक्तिलाई रोटरी क्लब अफ पशुपतिले सहयोग गरिरहेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भइ उपचार पाउनबाट वञ्चित ६ सय बालबालिकाको उपचारका लागि कार्यक्रम सुरु गरेको रोटरीका अध्यक्ष मिलन केसीले बताए ।

उनले जन्मजातै अपांगता भएका र पछि विभिन्न दुर्घटनामा परी अपांगता भएका बालबालिकाको उपचारका लागि गएको यो अस्पतालसँग सहकार्य गरेर कार्यक्रम सुरु गरेको बताए । जसमा ६ सय अपांगता भएका बालबालिकाको अप्रेसन र ६० जनालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने लक्ष्य रहेको छ । उनका अनुसार अहिलेसम्म १ सय २१ जनाको उपचार भइसकेको छ भने ६० जनाको उपचार हाल भइरहेको छ । यो परियोजनाको लागि ३ लाख ७५ हजार अमेरिकन डलर छुट्याइएको छ ।   

रोटरी भनेको विश्वभर रहेको एउटा सामाजिक संस्था हो । यसको मुल उद्देश्य नै समाज सेवा हो । यसले काम गर्ने ७ वटा क्षेत्रमध्ये ‘रोग रोकथाम र उपचार’ पनि हो । जसअन्तर्गत रोटरी क्लब अफ पशुपतिले ‘शारीरिक अपांगता व्यवस्थापन नेपाल’ नामक परियोजना सञ्चालन गरेको छ । ग्लोबल ग्रान्डअन्तर्गत ‘द रोटरी फाउण्डेशन’को सहयोग र रोटरी क्लब अफ पशुपतिको सहकार्यमा सञ्चालित परियोजनाले यस अस्पतालसँग साझेदारी गर्दै परियोजना सञ्चालनमा ल्याएको छ । गएको जेठ २ गतेदेखि सुरु भएको परियोजना आर्थिक अवस्था न्युन भएका विपन्न परिवारका बालबालिकालाई स्वास्थ्य सहयोग गरिरहेको छ । 

यसरी चुनिन्छन् विपन्न परिवारका अपाङ्ग

यस्तो समस्या भएर पनि जो अस्पताल पुग्दैनन्, उनीहरू कि थाहा नभएर कि त पैसा नभएर हो । अपाङ्ग बालअस्पताल तथा पुनःस्थापना केन्द्रले हरेक वर्ष वा महिनामा देशका सातवटै प्रदेशमा घुम्ती शिविर गर्छ । जहाँ अपाङ्गता भएका व्यक्तिहरूको खोजी गर्दै उपचारका लागि सल्लाह दिइन्छ । त्यो अवधिमा आर्थिक अभावका कारण उपचार नपाइ घरमै बसेका व्यक्तिहरू पनि सम्पर्कमा आउँछन् ।

यस्तो अवस्थामा अस्पतालले रोटरी क्लब अफ पशुपतिसँग सम्पर्क गरेर बिरामीको उपचार गरिदिन्छ । अप्रेसन गर्नुपर्ने बिरामीले बनेपामा रहेको अस्पतालमै पुग्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अस्पताल आउनदेखि उपचार खर्च र बिरामीसँगै एकजना कुरुवाको खर्च समेत यो क्लबले बेहोर्छ ।

खुसी हुँदै उपचार पाउनेहरू

उपचार गराउने क्रममा  पैसा सकिएर घर फर्कन लागेकाहरू अहिले उपचार पाउँदा निकै खुसी भएका छन् । सिन्धुपाल्चोककी निशा श्रेष्ठ १२ वर्षकी छोरी ल्याएर अस्पताल पुगेकी छिन् । छोरी सानो हुँदा खुट्टामा सानो पानीफोका जस्तै देखिएको थियो । छोरीले त्यसलाई कोतारेर फुटाइन् । त्यसपछि सुन्निन थाल्यो । अनि आमाले गाउँकै स्वास्थ्यचौकीबाट मुभ ल्याएर लगाइदिइन् ।

फेरि खुट्टा झन् बढ्दै गयो । निशाले भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा पुर्‍याइन् । त्यहाँ अप्रेसन गरेर खुट्टामा जम्मा भएको पीप निकालियो । दुईपटक अप्रेसन गर्दा पनि खुट्टा निको भएन । ‘भक्तपुरका चारवटा अस्पताल भर्ना गरें, धामीझाँक्री पनि धेरै लगाइयो तर निको भएन,’ उनले भनिन् ।

निको नभएपनि निशा गाउँ फर्किन् । उनका दिनहरू रुँदैमा बिते । खेल्दै गरेकी छोरी एकैछिनमा थन्कनुपर्दा निकै गाह्रो भयो । ‘भएको पैसा पनि सकियो, निको पनि भएन, मसँग अरू विकल्पै थिएन, ‘ उनी भन्छिन्,  ‘रोटरी यो अस्पतालमा नि:शुल्क उपचार गरिदिन्छ भन्ने सुनेर आएकी थिएँ, अहिले छोरीको उपचार भइरहेको छ ।’ 

अहिले निशाको छोरीको स्वास्थ्यमा सुधार हुँदैछ । उनी अहिले खुसी छिन् । भन्छिन्, ‘मैले त हार खाइसकेकी थिएँ, अहिले छोरीको मुहार पनि हसिलो छ, अब केही सुधार हुन्छ कि भन्ने प्रतीक्षामा छु ।’

उदयपुरका प्रेमबहादुर श्रेष्ठ जन्मजातै अपाङ्गता छन् । उनका दुवै खुट्टा पछाडि फर्केका छन् । जस कारण उनलाई हिँड्नबस्न समस्या हुन्छ । उनको खुट्टामा धेरै औंलाहरू थिए ।  परिवारले केही अस्पतालमा देखाएपनि ठीक नहुने बताएपछि उनी घरमै थिए । अस्पतालबाट गएको घुम्ती शिविरले उनलाई पनि देख्यो । अहिले उनको उपचार भइरहेको छ ।

१६ वर्षीय प्रेमबहादुरका दुवै खुट्टाको अप्रेसन गरेर पछाडि फर्केको भागलाई सोझो फर्काउन मिल्ने बताएपछि अहिले उनी पनि खुसी छन् । भन्छन्, ‘सपांगजस्तै हिँड्न मिल्ने त हुँदैन थाहा छ तर सोझो भएर हिँड्न पाउनु नै मेरो लागि खुसीको कुरा हो ।’

अस्पतालका कार्यकारी तथा चिकित्सा निर्देशक डा. विवेक बाँस्कोटा यो अस्पतालले यस्तै विभिन्न संघ सस्थासँग समन्वय गरेर उपचार दिँदै आएको बताए ।

सन् १९८५ मा स्थापना भएको अपांग बाल अस्पताल तथा पुन: स्थापना केन्दले अपांगता भएका बालबालिकाहरू उपचार गर्दै आएको छ । कुनै पनि अपांगता भएका बालबालिका उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालनमा भएको बताउँदै बाँस्कोटाले अहिलेसम्म हजारौं बालबालिकाको उपचार गरिसकेको बताए ।

विपन्न वर्गका शारीरिक अपांगता भएका व्यक्तिलाई केन्द्रित गर्दै सञ्चालनमा आएको अस्पतालसँग रोटरी क्लब पशुपतिले साझेदारी गरेको छ ।

६ सय ६० बालबालिकालाई उपचार गराउनु भनेको ठूलो कुरा हो,‘ उनी भन्छन्, रोटरीले ती बालबालिकाको उपचार खर्च बेहोरिरहेको छ ।

Share News