काठमाडौं । घटना १- चितवनको एउटा स्थानीय नागरिक समाज समूहले ‘आँशुमुक्त बाल्यकाल’ नामक अभियान सञ्चालन गर्यो । यस अभियानअन्तर्गत समूहले होटल, इँटाभट्टा र कृषि क्षेत्रमा बाल श्रमिकको अवस्था अध्ययन गर्यो । उनीहरूले इँटाभट्टामा १२ बालबालिकाको उद्धार गर्न सफल भए । उद्धार गरिएका बालबालिकालाई पुन:स्थापनाका लागि नजिकैको विद्यालयमा भर्ना गरियो र उनीहरूका अभिभावकलाई आयआर्जनका लागि वैकल्पिक उपाय उपलब्ध गराइयो ।
घटना २- इलामकाे चिया बगानमा काम गर्ने १० वर्षीय बालिका मनीषा (नाम परिवर्तन) लाई स्कूलमा फर्काउने काम नागरिक समाजको सहयोगमा सम्भव भयो । स्थानीय युवाहरूको समूहले बालबालिकालाई चिया बगानबाट निकालेर विद्यालयमा फर्काउने परियोजना सुरु गरे । यस अभियानले मनीषाजस्तै अन्य ३० बालबालिकाको भविष्य परिवर्तन गर्यो ।
घटना ३- बाल संरक्षणको क्षेत्रमा काम गर्ने सीवीस नामक एक गैरसरकारी संस्थाले अभियान नै चलाएर ३० वर्षमा ७ हजार ११८ जना बालबालिकालाई श्रम क्षेत्रबाट उद्धार गरेर शिक्षा जोडेको छ । परियोजना प्रमुख उमंग मैनालीका अनुसार जोखिममा रहेका १० हजार २६४ बालवालिकालाई विद्यालय भर्ना अभियानमा सामेल गराएको छ । दुई हजारभन्दा बढी यौन दुर्व्यवहार घटनाबाट बालबालिकाको उद्धार र ३०० भन्दा बढी मुद्दामा न्याय दिलाउन सफल भएको तथ्यांक छ ।
माथिका केही उदाहरणमात्रै हुन् । नागरिक समाज अर्थात् समाजका सचेत व्यक्ति, नागरिक समाजका संघसंस्थाको प्रयासले मात्रै धेरै विषय परिवर्तन सम्भव भएका छन् । बालश्रम अन्त्यका लागि पनि उनीहरूको पहल महत्त्वपूर्ण कारक हुन सक्छ । बाल श्रमविरुद्धको लडाइँमा नागरिक समाजको सक्रियता र प्रतिबद्धता निर्णायक छ ।
जनचेतना, उद्धार र पुन: स्थापनाबाट बालश्रममुक्त समाज निर्माणमा नागरिक समाजले उदाहरणीय भूमिका निर्वाह गरेको छ । यस्ता प्रयासलाई दिगो बनाउन सरकार, समुदाय, र नागरिक समाजबीच सहकार्य आवश्यक छ । प्रत्येक बालबालिकालाई शिक्षित र सुरक्षित भविष्य प्रदान गर्नु हाम्रो साझा दायित्व हो ।
नागरिक समाजको भूमिका
बालश्रमको अन्त्यका लागि पहिलो कदम भनेकै यो समस्या र यसको प्रभावबारे जनचेतना फैलाउनु हो । नागरिक समाजका सदस्यहरूले समुदायमा विभिन्न कार्यक्रमहरू आयोजना गरी बालश्रमका कारण बालबालिकाको भविष्य कसरी प्रभावित हुन्छ भन्ने विषयमा जानकारी दिन सक्छन् ।
गाउँ, नगर, विद्यालय र अन्य सार्वजनिक स्थानहरूमा चेतनामूलक कार्यक्रमले बाल श्रमको न्यूनीकरणमा ठुलो योगदान दिन सक्छ ।
बालश्रम प्रायः गरिबी र अशिक्षाका कारण हुन्छ । यसलाई न्यून गर्न नागरिक समाजले विद्यालय जाने वातावरण सिर्जना गर्न सहयोग गर्न सक्छ । विद्यालयहरूमा बच्चाहरूलाई नामांकन गराउन प्रेरित गर्ने, छात्रवृत्ति कार्यक्रमको पहल गर्ने र अभिभावकलाई शिक्षाको महत्त्व बुझाउने काम नागरिक समाजले प्रभावकारी रूपमा गर्न सक्छ ।
सरकारले बाल श्रम नियन्त्रणका लागि विभिन्न नीति तथा कानुन बनाए पनि कार्यान्वयनमा कमी देखिन्छ । नागरिक समाजले सरकारी निकायलाई जिम्मेवार बनाउने र बालश्रमसम्बन्धी नीति कार्यान्वयनमा प्रभावकारी दबाब दिन सक्छ । यसका लागि नागरिक समाजका सदस्यहरूले आवाज उठाउनुका साथै दिगो समाधानका लागि सरकारसँग सहकार्य गर्नुपर्छ ।
बालश्रममा परेका बालबालिकाको उद्धार र पुनस्र्थापनामा नागरिक समाजको भूमिका महत्त्वपूर्ण छ। उद्धार गरिएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पुनःस्थापना सुनिश्चित गर्नका लागि उनीहरूले गैरसरकारी संस्थाहरू र दातृ निकायसँग सहकार्य गर्न सक्छन् । नागरिक समाजका सचेत सदस्यहरूले स्थानीय समुदायका युवाहरूलाई बालश्रमको असरबारे शिक्षित गरेर उनीहरूलाई सक्रिय बनाउन उत्तिकै जरुरी छ ।
मिडियाको भूमिका
बालश्रम नेपालको ग्रामीण तथा सहरी क्षेत्रमा जरो गाडेको गम्भीर समस्या हो । आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण लाखौं बालबालिका विद्यालय जानुको सट्टा श्रम गर्न बाध्य छन् । यसको अन्त्यका लागि राज्यका नीति मात्र पर्याप्त हुँदैनन्, यसलाई व्यावहारिक रूपमा रोक्न मिडियाको सक्रिय भूमिका अपरिहार्य छ । विशेषतः नागरिक मिडिया जसले समुदायको आवाजलाई सार्वजनिक गराउँछ, यो अभियानको महत्त्वपूर्ण पक्ष हो ।
सञ्चार क्षेत्रमा सक्रिय गोविन्द खड्काका अनुसार, ‘बालश्रम अन्त्यका लागि मिडियाले समस्या मात्र देखाउने होइन, समाधानमुखी दृष्टिकोण ल्याउनुपर्छ ।’ मिडियाले जनचेतना अभिवृद्धि, घटना उजाग, नीति निर्माणमा सहयोग हुनेगरि काम गर्नुपर्ने खड्काको धारणा छ । मिडियाले अभियान नै गरेर सञ्चार पैरवी गर्ने हो भने श्रम क्षेत्रमा रहेका हजारौ बालबालिकालाई विद्यालयमा फर्काउन मद्दत पुग्ने बालश्रम क्षेत्रमा काम गर्ने अभियानताको पनि विश्वास छ ।
‘बाल संरक्षणको क्षेत्रमा लामो समयलेदि सक्रिय सीवीस नेपालका सल्लाहकार युवराज घिमिरेका अनुसार ‘बाल श्रममाथि मिडियाले लगातार रिपोर्टिङ नगरेसम्म समाजमा यो समस्या लुकेर बसिरहन्छ । नागरिक मिडियाले विषयवस्तुलाई समुदायको पहुँचमा पुर्याएर मात्र होइन, निर्णयकर्ता निकायलाई जवाफदेही बनाउन पनि मद्दत गर्न सक्छ ।’
२०२१ मा पत्रकारहरुको समुहले सर्लाहीमा इँटाभट्टामा बालबालिकाको दयनीय अवस्था देखाउने स्टोरी तयार गरेपछि त्यहाँबाट ३५ बालबालिकालाई उद्धार गरिएको थियो ।
नागरिक मिडियाले बाल श्रमको अन्त्यका लागि परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्छ । यो समस्या लुकाएर होइन, समाधानमुखी दृष्टिकोणसहित समुदाय र निर्णयकर्ता दुवैलाई उत्तरदायी बनाउन मिडिया क्रियाशील हुनुपर्छ । बाल श्रमविहीन समाज निर्माणका लागि नागरिक मिडियाको सक्रियता आजको समयको आवश्यकता हो ।
१० लाख ८० हजार बालबालिका श्रमिक
नेपाल बालश्रम प्रतिवेदन सन् २०२१ का अनुसार नेपालमा १० लाख ८० हजार बालबालिका श्रम गरिरहेका छन्, जुन समग्र बालबालिकाको १६ प्रतिशत हो । काठमाडौंमा मात्रै १० हजार श्रमिक बालबालिका रहेको महानगरकोअनुमान छ । श्रममा पूर्ण रूपमा निषेध गरेका १४ बर्ष मुनिका १८ प्रतिशत बालवालिका श्रम क्षेत्रमा रहेका छन् । २ लाख बालबालिकाको अत्यन्त जोखिमपूर्ण श्रम शोषण भइरहेको तथ्यांक छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा झन्डै १६ लाख बालबालिका कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गरिरहेको छ । यीमध्ये धेरैजसो बालबालिका जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेका छन् । बाल श्रम, नेपालको आर्थिक र सामाजिक विकासका लागि बाधक एक गम्भीर समस्या बनेको छ ।
सरकारले नीतिगत पहल गरिरहेको छ । सामाजिक संघ संस्थाले निरन्तर काम पनि गरिरहेका छन् । तर, बालश्रम अन्त्य चुनौती नै बनिरहेको छ । बालश्रमको अन्त्य कुनै एक संस्थाको काम होइन; यो सामूहिक प्रयासबाट मात्र सम्भव छ। नागरिक समाजले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निभाएमा बालबालिकाको सुरक्षित, शिक्षित, र उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ ।
यसका लागि सरकार, स्थानीय समुदाय, र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य छ । सरकारले पनि सबैसँग साझा सहकार्यको मोडल अपनाएर काम गर्नुपर्छ । बाल श्रमविहीन समाज निर्माण हामी सबैको दायित्व हो ।