
विकास समिति बैठकमा कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यात र अन्य तीन आयुक्तहरु
काठमाडौं । ‘माननिय सभापतिज्यु, भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी पाएको अख्तियार हिन्दी फिल्म सोलेको गब्बर सिंह हो की मुसा हो बुझ्नै सकिएन, कहिले अख्तियार गब्बर सिंह बन्छ कहिले मुसा जस्तै, यो ठिक भएन, अख्तियारले आफ्नो भूमिका बिर्सिनु हुन्न’, कास्कीका सांसद यज्ञ बहादुर थापाले व्यवस्थापिका संसदको विकास समितिमा भने ।
धादिङका सांसद गुरु बुर्लाकोटीले भने–‘म सानो छँदा गाउँमा भुरा लाने जोगीको नाममा केटाकेटीलाई तर्साइन्थ्यो, अहिले कर्मचारी अख्तियारका नाममा तर्सिन्छन, के भुरा लाने जोगी र अख्तियार उस्तै हो ?’ अर्का सांसद ललितजंग शाहीले अख्तियारको बल्छि सानो भएको आरोप लगाउँदै ठुला माछा समात्ने गरि बल्छिको विकास गर्न आग्रह गरे ।
सांसद शिवजी यादवले भ्रष्टाचार भएपनि अख्तियार, काम नभएपनि अख्तियार गुहार्ने कुरा गलत भएको धारणा राखेका थिए ।
सांसद राजेन्द्र पाण्डेले आफ्नो क्षेत्राधिकार नाघेर अख्तियारले स्थानिय विकासमा अवरोध खडा गरेका आरोप लगाए । ‘अख्तियार समानान्तर सरकार होइन, यो सरकारको संबैधानिक अंग मात्रै हो, आफ्नो अधिकार क्षेत्र बुझेर मात्रै काम गर्नु पर्छ, विकास निर्माणमा अवरोध गर्न पाइँदैन’, सांसद पाण्डेले भने ।
सांसदहरु रामचन्द्र पोखरेल, तुलसा राना, रामकृष्ण घिमिरे र हरिचरण शाह लगायतले अख्तियार विकासको बाधका रुपमा खडा भएको आरोप लगाएका थिए । अख्तियारको त्रासले कर्मचारीले काम गर्न छोडेको बताउँदै त्यस्तो अवस्था चिर्न आयोगले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
अख्तियारको स्पष्टिकरण
बैठकमा कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यात, डा. गणेशराज जोशी, नविनकुमार घिमिरे र सावित्रा गुरुङ उपस्थित थिए । आयुक्त डा. पोखरेलले आयोग विगतमा गब्बर सिंहको भूमिकामा देखा परेको संकेत दिँदै अहिले भुसा भने नभएको स्पष्ट पारेका थिए ।‘आयोगबाट विगतमा केहि त्यस्ता घट्नाहरु पनि भएका थिए होलान तर अहिले त्यस्तो अवस्था छैन, हामी सुतेका पनि छैनौं र विकास बिरोधी पनि भएका छैनौं’, डा. जोशीले भने ।
अर्का आयुक्त नविन कुमार घिमिरले पनि आयोग विकास विरोधी नभएको तर विकास निर्माणमा कानुन सम्बत हुनुपर्ने र गुणस्तर कायम हुनुपर्नेमा जोड दिए । कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले संसद बनाएको कानुन अनुसार आयोगले काम गरिरहेको बताउँदै भ्रष्टाचार निवारणमा कुनै कसर बाँकी नराख्ने र विकास निर्माणमा अवरोध नगर्ने प्रष्ट पारेका थिए ।