काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेका भएको बताएका छन् । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा बिहीबारदेखि शुरु भएको दुई दिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताएका छन् ।
नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै अर्थमन्त्री जेट्लीले ऊर्जा, कृषि, पर्यटन, सिचाईँका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताए । नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाई क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए ।
शैक्षिक क्षेत्रहरु मेडिकल, इन्जीनेरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिने भन्दै उनले आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगडि बढीने बताए । लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहजरुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने अर्थमन्त्रीको जेट्लीको जोड थियो । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने सुझाव उनको थियो ।
नेपाल र भारतबीच महमहत्वपूर्ण सम्बन्ध रहेको बताउँदै उनले दुई देशबीचको व्यापारिक, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध रहेको उल्लेख गरेका छन् । अर्थ मन्त्री जेट्लीले नेपाल र भारतको सम्बन्ध आर्थिक मात्र नभइ विविध क्षेत्रसँग गाँसिएको बताए ।
उनले लगानीले लगानी विस्तार गर्ने उल्लेख गर्दै ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अर्थ मन्त्री जेट्लीले पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिन्छ भने ।
सम्मेलनमा सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्राउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।