काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले रोल्पा जिल्लामा गरेको करोडौं रकमान्तर प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अर्थमन्त्री महराले आफ्नो निर्वाचन जिल्ला रोल्पामा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेपछि आयोगले छानविन थालेको हो ।
‘बजेटमा नभएका कार्यक्रममा भएको रकमान्तर प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ, हामी अनुसन्धान गरिरहेका छौं, गैर बजेटरी रकमान्तरलाई छाड्दैनौं’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले भने ।
व्यवस्थापिका संसदको विकास समितिमा स्थानिय तथा राष्ट्रिय विकासको कार्यप्रगति समिक्षामा उपस्थित कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले नियम मिचेर भैरहेको रकमान्तरलाई टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेका हुन् । ‘बर्षेनी बजेट आउँछ, त्यसमा कार्यक्रमहरु राखिन्छन, त्यसमा पनि पैसा पुगेन रकमान्तर गर्ने कानुन सम्बत व्यवस्था नै छ, तर यहाँ त बजेटमै नभएका कार्यक्रममा करोडौं रकम पठाइएको छ जुन गम्भिर कुरा हो’, कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले भने ।
अर्थमन्त्री महराले रोल्पामा ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेका छन् । अर्थमन्त्री महराले निर्णय नम्बर १ मार्फत रोल्पा जिल्लामा उपभोक्ता समितिले निर्माण गर्ने २५ वटा सडकका लागि २० लाख देखि ५९ लाख रुपैंयाँसम्म रकमान्तर गरेका छन् ।
त्यस्तै, ठेक्का मार्फत निर्माण गर्नुपर्ने ११ वटा सडकका लागि एक एक करोड रुपैंयाँ रकमान्तर गरेका छन् । बजेटमै नभएका कार्यक्रम खडा गरेर रकमान्तर गरेपछि अख्तियारले छानविन थालेको हो ।