१० वर्षपछि रोजगारीको लागि विदेश जानु नपर्ने, नेपालमा लगानी गर्न इच्छुक हजार जना पूँजीपति लगानी सम्मेलनमा सहभागी

<p>काठमाडौं । बिहीबारदेखि राजधानीमा शुरु भएको लगानी सम्मेलनमा भाग लिन आएको विदेशी पाहुँनालाई सम्बोधन गर्दै सरकार र प्रमुख दलको शिर्ष नेताहरु नेपालमा आर्थिक विकासका एजेण्डामा साझा धारणा विकास भएको बताएका छन् । राजनीतिक विषयमा फरक मत भएपनि स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्ने र उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्न चाहेको बताएका छन् । सम्मेलनको [&hellip;]</p>

काठमाडौं । बिहीबारदेखि राजधानीमा शुरु भएको लगानी सम्मेलनमा भाग लिन आएको विदेशी पाहुँनालाई सम्बोधन गर्दै सरकार र प्रमुख दलको शिर्ष नेताहरु नेपालमा आर्थिक विकासका एजेण्डामा साझा धारणा विकास भएको बताएका छन् । राजनीतिक विषयमा फरक मत भएपनि स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्ने र उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्न चाहेको बताएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएको भन्दै अबको मुल एजेण्डा आर्थिक विकासमात्रै भएको बताए । ‘दीगो शान्ति र आर्थिक समृद्धि हाम्रो मुल एजेण्डा हो, आर्थिक समृद्धिबाटै दीगो शान्ति सम्भव छ’ दाहालले भने । सरकारले लगानीको सुरक्षा हुन्छ ग्यारेन्टी गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । नेपालले भारत र चीनले गरेको उच्च आर्थिक वृद्धिबाट नेपालले लाभ लिन सक्ने उनले बताए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक परेको बताए । कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणले लगानीको वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई देउवाले आग्रह गरे ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिक एजेण्डामा दलहरुबीच मतभेद भएपनि आर्थिक एजेण्डामा सबै एकै ठाउँमा उभिएको बताए । ‘लगानी हुन्छ, उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ भने सत्ता पक्षले मात्र होइन, विपक्षी दलले पनि त्यसको स्वगात गर्छ’ ओलीले सम्मेलनमा सहभागी हुन आउने पाहुनालाई भने–तपाईहरु यस पटक मात्र होइन, फेरी फेरी आउँनुहोस्, संधै यतै बस्नेगरी आउनुहोस् । ठूला परियोजनामा लगानी गर्नुहोस् । केही समस्या परेमा हामीलाई भेट्न आउनुहोस्, हामी सहयोग गर्छ ।’ नेपालमा लगानी गर्ने व्यवसायीलाई नेता, मन्त्री, प्रधानमन्त्री सबैलाई भेट्न सजिलो भएको र आफ्ना समस्या सजिलै राख्न सकिने पनि उनले बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले लगानीको संरक्षण गर्न सरकारले लगानी बातवरण बनाईरहेको, २४ सै घण्टा विजुली आपूर्तिको व्यवस्था मिलाउँदै गरेको, उद्योगसँग सम्बन्धित पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर लगानी गरेको उनले बताए ।
नयाँ संविधान निर्माणसँगै आवश्यक कानुन निर्माण तथा परिमार्जनको कार्यलाई सरकारले तिब्र रुपमा अगाडि बढाएको बताए । पौने ३ करोड जनसंख्या भएको नेपाल आफैमा ठूलो बजार भएको र विश्वकै ठूलो जनसंख्या भएका चीन र भारत  छिमेकी भएकोले बजार प्रशस्त भएको उनले बताए ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षपछि कुनै पनि नेपाली रोजगारी खोज्दै विदेशिनु नपर्ने घोषणा गरे । नेपालमा लगानीको वातावरण बनेको भन्दै मन्त्री जोशीले ठूलो लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । ‘नेपालमा हजारौंलाई रोजगारी चाहिएको छ । रोजगारी सिर्जना गर्न लगानी बढाउनै पर्छ,’ उनले भने,‘नेपालमा लगानीको वातावरण बनेको छ, अबको १० वर्षपछि कुनैपनि नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन ।’ विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बैंकिङ कसूर सम्बन्धी ऐन संसदबाट पारित भइसकेको र अन्य आर्थिक ऐनहरु संसदमा छलफलका क्रममा रहेको उनले जानकारी गराए ।

पूर्व अर्थमन्त्री रामशरण महतले नेपाल अल्प विकसित मुलुकबाट विकासशील देशको सूचीमा प्रवेश गर्न एकदमै आतुर रहेको बताए । उनले सन् १९९० पछिको कालखण्डमा नेपाली कांग्रेस सरकारले नै नीजि क्षेत्रलाई लगानीमा आकर्षित गरेको भन्दै त्यसकै परिणाम स्वरुप नेपालमा टेलिकम्युनिकेसन, एयरलाइन्स, बैंकिङ लगायत क्षेत्रको विकास भएको बताए । आगामी दिनका लागि सरकारले पूर्वाधारमा लगानी खुला गरेको र त्यसमा पिपिपी मोडेल दोस्रो ‘जेनेरेसन’आकर्षण भएको उनले बताए । महतले नेपाल जैविक विविधताले भरिपूर्ण भएको भन्दै हाइड्रोपावर, क्लिन इनर्जी तथा नयाँ इन्फ्रास्टक्चर निर्माणका लागि धेरै लगानीको सम्भावन धेरै रहेको बताए।

सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लिछुनले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए । त्यसका लागि नेपाली नीजि क्षेत्रसँग सहकार्य गरेर जाने उनको भनाइ छ । ‘हामी ठूला आयोजनामा काम गर्न चाहन्छौं’ लिछुनले भने ‘लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि सामाजिक र आर्थिक परिवर्तन सहितको ठूलो लिन चाहन्छौं।’ एआइआइवीले नेपालमा परिवर्तनको चरणमा पुग्ने र ग्रिन सस्टेनेवल इकोनोमीका लागि सहयोग तथा सहकार्य गर्ने स्पस्ट पारे । सम्मेलनमा विदेशी र नेपाली सहित झण्डै १ हजार  पुँजीपति सहभागी भएका छन् ।

सरकारका तर्फबाट २५ वर्षपछि आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भारत, चीन, बगंलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका संस्थागत र व्यक्तिगत लगानीकर्ताले सहभागी भएको आयोजकले बताएका छन् ।

Share News