नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयले ५०औं स्वर्णजयन्ती पुस ७ गते मनाउने

<p>नुवाकोट । नुवाकोटको श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५०औं स्वर्णजयन्ती पुस ७ गते मनाउने भएको छ । विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी स्वर्णजयन्ती मनाउनेबार जानकारी दिएको हो । विद्यालयले गत मङ्सिर ३० गतेदेखि विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधिहरूसहित विशेष कार्यक्रमहरू सुरु गरिसकेको छ । यस समारोहको सफलताका लागि ६१ सदस्यीय विद्यालय स्वर्ण जयन्ती मूल [&hellip;]</p>

नुवाकोट । नुवाकोटको श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५०औं स्वर्णजयन्ती पुस ७ गते मनाउने भएको छ । विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी स्वर्णजयन्ती मनाउनेबार जानकारी दिएको हो ।

विद्यालयले गत मङ्सिर ३० गतेदेखि विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधिहरूसहित विशेष कार्यक्रमहरू सुरु गरिसकेको छ ।

यस समारोहको सफलताका लागि ६१ सदस्यीय विद्यालय स्वर्ण जयन्ती मूल समारोह आयोजक समिति गठन गरिएको छ । जसको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाले गरेका छन् ।

विद्यालयले उक्त अवसरमा आर्थिक सङ्कलन उपसमिति पनि गठन गरेको छ, जसको संयोजकता विकास खतिवडाले सम्हाल्दैछन् । उक्त समितिले हालसम्म पैत्तिस लाख सच्चालिस हजार सात सय पन्ध्र मात्र) सङ्कलन गरेको जानकारी पनि दिइएको छ ।

आर्थिक सङ्कलनका लागि अभिभावक, समाजसेवी, शिक्षाविद्, बुद्धिजीवी, जनप्रतिनिधि र विद्यालयका पूर्व विद्यार्थीहरूबाट स्वैच्छिक चन्दा संकलन भइरहेको जानकारी विद्यालयले दिएको छ ।

नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद रामप्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण महोत्सव उद्घाटन हुने जनाएको छ ।

समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ ।

साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्‍याउने दाता, जग्गा दाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित गरिने कार्यक्रम पनि समावेश गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयको प्रधानाध्यापक सुदर्शन खतिवडाले विद्यालयको समृद्ध इतिहास र यस अवसरमा आयोजित कार्यक्रमको महत्त्वलाई उल्लेख गर्दै सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी हुन प्रोत्साहित गरेका छन् ।

श्री आरुखर्क माध्यमिक विद्यालयले विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । यस विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

Share News