साउनदेखि १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने

<p>काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढि नगद कारोबारमा रोक लगाउने भएको छ । अर्थ सचिव शान्तराज सुवेदीले १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने निर्णय मन्त्रिपरिषदले गरिसकेको र आगामी आर्थिक वर्षदेखि लागू हुने जानकारी दिए । ‘नगद कारोबारमा १० लाखको सीमा सम्बन्धि निर्णय मन्त्रिपरिषदले गरिसकेको छ, केहि दिनभित्रै राजपत्रमा [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढि नगद कारोबारमा रोक लगाउने भएको छ । अर्थ सचिव शान्तराज सुवेदीले १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने निर्णय मन्त्रिपरिषदले गरिसकेको र आगामी आर्थिक वर्षदेखि लागू हुने जानकारी दिए ।

‘नगद कारोबारमा १० लाखको सीमा सम्बन्धि निर्णय मन्त्रिपरिषदले गरिसकेको छ, केहि दिनभित्रै राजपत्रमा सूचना प्रकाशित हुनेछ’, अर्थसचिव सुवेदीले विकासन्युजसँग भने ।

सम्पति सुद्धिकरण निवारण ऐन २०६४ ले निश्चित थ्रेसहोल्ड भन्दा माथिको नगद कारोबारमा रोक लगाउन सकिने व्यवस्था गरेको छ । सो ऐनमा सरकारले राष्ट्र बैंकको परामर्शमा तोकिएको मूल्य वा सो भन्दा बढीको सेवा तथा बस्तु खरिद एंव बिक्रीका कारोबारहरु वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्न सकिने उल्लेख गरेको छ । सरकारले ऐन आएको ९ बर्षपछि त्यसको कार्यान्वयन गर्न लागेको हो ।


साउन १ गतेपछि १० लाख भन्दा बढीको कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्नुपर्नेछ । हाल ३० लाख भन्दा बढीको कारोबार बैंकिङ च्यानलबाट मात्रै गर्नुपर्ने व्यवस्था रहेको छ । १० लाख भन्दा बढीको कारोबारमा भने स्राेत खुलाउनु पर्ने व्यवस्था रहेको छ । ‘अहिले ३० लाख बढि रकमको कारोबारमा बैंकिङ च्यानल अनिवार्य गरेका छौं, अब १० लाख तोकियो भने त्यसले सम्पति सुद्धिकरणमा सघाउ पुर्याउँछ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ।

उनले नगद कारोबारमा सिमा तोकिएको निर्णय सम्बन्धी सर्कुलर भने अझै राष्ट्र बैंकले नपाएको बताए । ४० प्रतिशत जनताको मात्रै वित्तीय  पहुँच पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । वित्तीय पहुँच नपुगेकाे क्षेत्रमा नगदकाे काराेबार गर्नुकाे विकल्प हुँदैन ।

Share News