दैनिक ७२ लाख ३५ हजार रुपैयाँको मदिरा आयात, सस्तोदेखि ब्राण्डेडसम्म विदेशी मदिरामा नेपालीको खर्च

<p>काठमाडौं । मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ। त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन्। सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन्। भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन्। यसबाहेक ‘ड्युटी फ्री’ बाट [&hellip;]</p>

काठमाडौं । मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ। त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन्।

सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन्।

भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन्। यसबाहेक ‘ड्युटी फ्री’ बाट पनि धेरै विदेशी मदिरा दिनहुँ नेपाल भित्रिने गरेको छ।

विदेशी मदिराको आयात र मात्रा मात्र होइन, त्यसका लागि नेपाली रकम विदेशिने क्रम पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी मदिराको आयात गतवर्ष यही अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ। ती मदिरा किन्नका लागि विदेशिने रकम भने ६२ प्रतिशतले वृद्धि भएको छ।

बियर, वाइन, ह्वीस्की, स्याम्पेन, भोड्कालगायत मदिरा र यस्तै खाले रक्सी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात हुने क्रम बढेको छ। साउनदेखि माघसम्म भएको आयातका आधारमा हेर्दा हरेक दिन नेपालमा ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको छ। त्यसका लागि आयातकर्ता र उपभोक्ताको थाप्लोमा १ करोड ७ लाख रुपैयाँ राजस्व भार पर्छ। यस आधारमा हरेक दिन विदेशी रक्सीका लागि व्यापारीले राख्ने नाफाबाहेक नेपालीले १ करोड ८० लाख रुपैयाँ खर्च गर्छन्।

यो औपचारिक माध्यमबाट भन्सार तथा अन्तःशुल्क तिरेर ल्याएको मदिराको मात्र विवरण हो। कर नतिरी ल्याइने रक्सीको विवरण यसमा समेटिएको छैन। ‘विदेश गएर आउनेले ड्युटी फ्रीबाट ल्याउने मदिरा पनि धेरै हुन्छ,’ नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल भन्छन्, ‘त्यसलाई पनि समेट्ने हो भने तथ्यांक बढी देखिन्छ।’

उनका अनुसार नेपालको कुल मदिरा कारोबारमा विदेशी मदिराको बजार हिस्सा ३० प्रतिशत मात्र छ। बाँकी ७० प्रतिशत हिस्सा भने स्वदेशी उत्पादनले ओगट्दै आएको छ। व्यवसायीका अनुसार नेपालको कुल राजस्वमा मदिरा व्यवसायबाट मात्र २० प्रतिशत उठ्छ।

जनसंख्या वृद्धि र सहरी क्षेत्रमा बढ्दो पश्चिमी सांस्कृतिक प्रभावका कारण विदेशी मदिराका पारखी बढ्दै गएका हुन्। पहिले विवाह, वार्षिक उत्सवलगायत भोजभतेरमा रक्सीको प्रचलन नरहेको भए पनि अहिले यस्तो चलन बढ्दै छ।

Share News